प्रकाश चन्दसँगै गिरफ्तारमध्ये ७ महिला, अध्यक्ष कँडेलद्वारा रिहाईको माग
  • अनलाइनपाना संवाददाता
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौँ

बुधबार बिहान चितवन मेडिकल कलेजबाट गिरफ्तार भएका १८ जनामध्ये ७ जना महिला रहेका छन् । उनीहरु सबै चिकित्सा शिक्षा अध्ययनरत हुन् । सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका छन् ।

चिकित्सा शिक्षामा दलालीकरण र अवैध शुल्क थोपरिएको भन्दै खारेज गर्नुपर्ने मागसहित २० दिनदेखि अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघद्वारा ‘चिकित्सा शिक्षा संघर्ष अभियान’ संचालन गरिरहेको छ ।

सोही कार्यक्रमबीच बुधबार चितवन मेडिकल कलेजमा सर्वसाधारणलाई सर्वशुलभ बनाइनुपर्ने, अवैध शुल्क खारेज गर्नुपर्ने, उपचारमा चरक दलालीकरण बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनको नेतृत्व महासंघका केन्द्रीय महासचिव चन्दले गरेका थिए ।

सोही क्रममा चन्दसहित १८ जनालाई बिहान ९ः३० बजे कलेज परिसरबाट गिरफ्तार गरिएको थियो । महासंघका अध्यक्ष टिका कँडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरुले उठाएका इमान्दार माग पूरा गर्नुको साटो सरकार दमन र धरपकडमा उत्रिएको भन्दै गिरफ्तार घटनाको निन्दा र भत्र्सना गरेका छन् ।

गिरफ्तार महासचिव चन्दसहित सबैलाई बिनासर्त तुरुन्त रिहा गर्न अध्यक्ष कँडेलले माग गरेका छन् । रिहाई नगरिए माग पूरा गराउन उच्चस्तरको संघर्ष चलाउन बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।