रमिला राईको हत्या गरि कोशीमा फालेको आरोपमा नेकपा नेता गुरुङ पक्राउ
  • अनलाइनपाना संवाददाता
  • आइतवार, फाल्गुन २६, २०७५
  • काठमाडौँ

नेकपा नेता योगेन्द्र गुरुङ मोरङको बेलबारी ४ बस्ने वर्ष २६ की रमिला राईको हत्या अभियोगमा पक्राउ परेका छन् । यहि फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी ति युवतिलाई स्थानीय नेता गुरुङले हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । गुरुङलाई ईलाका प्रहरी कार्यालय बेलबारीले ईलामबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।

अनुसन्धानका क्रममा महिलाको हत्या गरी कोशीमा फालिएको हुनसक्ने आशंका भएकाले सोहीअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव नभेट्दासम्म योजना बनाएर हत्या गरेको भन्न सक्ने अवस्था नरहेकोले अहिले प्रमाण जुटाउने काम भइरहेको प्रहरीको भनाई छ । अनुसन्धानको क्रममा फरक फरक कोणबाट हेरिने भएकोले सोहीअनुसार काम भइरहेको उनको भनाइ छ ।

प्रहरीमा गुरुङले दिएको बयानका आधारमा कोशीमा शव बगाएको आशङ्कामा २ दिनदेखि प्रहरीले शव खोजेपनि फेला पार्न सकेको छैन । फागुन १७ गतेबाट हराइरहेकी युवती नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनाको एक सातापछि शुक्रवार गुरुङलाई नियन्त्रणमा लिएको थियो । केही दिनदेखि गुरुङसमेत बेलबारी छोडेर सम्पर्कविहीन भएपछि प्रहरी उनको खोजीमा लागेको थियो ।

प्रहरीले शुक्रवार नै गुरुङले प्रयोग गर्दै आएको बा. १५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको थियो । युवती हराएको रात उनीहरू सँगै रहेको र उनी घर नफर्किएपछि ती महिलाका परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएको थियो । युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेका थिए । उनले गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानको क्रममा उनलाई केन्द्रित गरी प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा धेरै कुराहरू आएको भएपनि प्रमाण जुटाउने क्रममा प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बेलबारी ४ बुधबारे निवासी ती महिला पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन् । गुरुङ भने श्रीमती र छोराहरूसँग काठमाडौंमा बस्दै आएका छन् ।