पाटनमा गोली चल्दा ४ प्रहरी सहित १ विद्यार्थी घाइते
  • अनलाइनपाना संवाददाता
  • आइतवार, फाल्गुन २६, २०७५
  • बैतडी

पाटनमा आईतबार गोली चलेको छ । विद्यार्थी र प्रहरीबीचको झडप हुँदा गोली चलेको हो । झडपमा परि चार प्रहरी सहित एक जना विद्यार्थी घाइते भएका छन् ।

बैतडिको पाटनस्थित भीमदत्त पोलिटेक्निकल ईन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थी पूर्णानन्द पाण्डेको शनिबार जेसीबीले किचेर मृत्यु भएको थियो । त्यसको विरोधमा विद्यार्थीले आज प्रदर्शन गरेका हुन् । जेसीबी चालकलाई कारवाही हुनु पर्ने र मृतक विद्यार्थीका परिवारलाई राहत उपलब्ध गराउँनु पर्ने विद्यार्थीको माग थियो ।

प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको हो । विद्यार्थीको जुलुसले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेको छ । स्थिति नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले हवाइ फायर मात्रै गरिएको दावी गरेको छ । प्रहरीका अनुसार, १८ राउन्ड हवाइ फायर गरिएको हो । त्यस्तै, नौ राउन्ड अश्रुग्यास प्रहार गरिएको छ ।

घाइते विद्यार्थी र प्रहरीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अहिले पनि पाटनमा विद्यार्थी र प्रहरीबीच तनाव यथावत रहेको छ ।