निर्मला हत्या काण्डमा बम दिदीबहिनीले, कुनै संलग्नता नरहेको जिकिर:
  • अनलाइनपाना सम्बाददाता
  • सोमवार, माघ १४, २०७५
  • काठमाडौँ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले जिकिर गरेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए ।सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूलाई मानव अधिकारकर्मी भन्नेहरुले चरित्र हत्या गर्नेगरि स्थलगत अध्ययन तथा अनुशन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए । निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्, ‘निर्मला मेरी साथी हुन् । यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्छ ।’

प्रहरी अनुसन्धानले आफूहरुलाई दोषी सावित गरि नसकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरि र आफूहरुलाई हत्याको मतियार भन्दै प्रतिवेदन बाहिर ल्याएको भन्दै उनले कडा आक्रोश पोखिन् ।उनले भनिन्, ‘नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरि र हामीलाई त्यस हत्याको मतियार भन्दै संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे ।’

अर्यालले आफूहरुसँग एक वचन पनि नसोधेको उनले जिकिर गरिन् । उनले भनिन्, ‘न हामीलाई भेटे, न हाम्रा छिमेकीहरुलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन् ? मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरुले बुझ्न समेत चाहेनन् ।’आफ्नो प्रतिवेदनमा दावी गरेको कुरालाई सार्वजनिक रुपमा पुष्टि गर्नु पर्ने नेपाल मानव अधिकार संगठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व रहेको उनको भनाई छ ।

रोशनीले भनिन्, ‘उनीहरुको प्रतिवेदन सार्वजनिक भएपछि हामी वहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन विताउन बाध्य भएका छौं । हाम्रो पढाई छुटेको छ, सामाजिक वेइज्जति भएको छ । आफन्त र विद्यालयका साथीहरुले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रुपमा हेर्ने गर्न थालेको छन । झुटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ । उनीहरुको प्रतिवेदनले गर्दा हामीमाथी परेको शारीरिक, मानसिक र सामाजिक क्षतिको क्षतिपूर्ति दिलाइ दिन आम सञ्चार माध्यम, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु समक्ष अनुरोध गर्दछु ।’

प्रहरीले अनुसन्धानका लागि भन्दै आफूहरुलाई दुईपटक पक्राउ गरेको सुनाउँदै उनले थपिन्, ‘म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौं । प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्यो । कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो ।’
अनुसन्धानको लागि काठमाडौंबाट अहिलेसम्म प्रहरीको ७ टोली कञ्चनपुर गैसकेको सुनाउँदै उनले आफूहरु दोषी भएको भए प्रहरीले किन प्रमाणित नगरेको त भन्दै प्रश्न गरिन् ।

कार्यक्रममा दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन् । बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रुपमा आफूहरुको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरुद्ध अदालत जाने समेत उनले चेतावनी दिइन् ।कार्यक्रममा रोशनी र बबिताकी आमा ईन्द्रा बमले यो प्रकरणमा आफ्ना छोरीहरुको नाम मुछेर चरित्र हत्या गर्ने काम भएको गुनासो पोखिन् । उनले भनिन्, ‘निर्मला पनि मेरी छोरी हुन् । उनले न्याय पाउनुपर्छ । दोषी पत्ता लगाउनुपर्छ ।’