सरकारविरुद्ध नेविसंघ : सिंहदरबार अगाडि यसरी उँड्यो बेलुन
  • अनलाइनपाना सम्बाददाता
  • शनिबार, माघ १९, २०७५
  • काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको आन्दोलनलाई चर्काउँदै गएको छ । काठमाण्डौको सिंहदरबार गेट अगाडि नै नेविसंघका कार्यकर्ताले प्रहरीको आँखा छलेर कालो बेलुनमा सरकारविरोधि नारा लेखेर उडाएका थिए । देशका अन्य विभिन्न स्थानमा पनि नेविंघले सरकारविरोधी गतिविधी बढाएको छ ।

काँग्रेसको अवरोधका बाबजुद संघीय संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेविसंघले शुक्रबार सिंहदरबारको मूलगेट अगाडिको निषेधित क्षेत्र तोड्दै आन्दोलनलाई झनै चर्काएको हो । त्यस अवसरमा नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टसहित ८ जना कार्यकर्ताहरुले कालो बेलुनमा सरकारविरोधि नारा लेखेर उडाएका थिए ।

उनीहरुले निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै सो बेलुन उडाएपछि डा. गोविन्द केसीको जीवन रक्षा गर्न र निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।नेविसंघले बेलुन उडाएकै दिन डा. केसीले अनसन तोडेर आफ्नो माग पूरा गराउन फरक आन्दोलन गर्ने बताएका छन्

नेपाली काँग्रेसले डा. केसीको मागसँगै निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोभन्दै सरकारविरुद्ध सुरु गरेको आन्दोलनलाई विद्यार्थी संगठन नेविसंघले तीव्रता दिएको हो । कैलालीको धनगढीमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

नेपाल विद्यार्थी संघले शुक्रबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । कम्युनिष्ट सरकारले एकपछि अर्को गर्दै गलत निर्णय गर्न थालेको भन्दै विरोधमा पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ । कैलाली बुहमुखी क्याम्पसबाट सरकारको विरोधमा नारावाजी गर्दै क्याम्पस गेट अगाडि पुत्ला दहन गरिएको हो ।

यसअघि नेपाल विद्यार्थी संघ रामेछापले पनि कम्युनिष्ट सरकारको कार्यशैलिको बिरोधमा बिहिबार साँझ मन्थलीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । शंख बजाउदै निकालिएको प्रधानमन्त्रीको पुत्ला सहित बजार परिक्रमा गरी पुत्ला दहन गर्ने योजनालाई प्रहरीले हस्तक्षेप गर्न खोजे पछि उनीहरुले जिल्ला समन्वय गेट अगाडी तत्काल पुत्ला दहन गरेका थिए । सरकारले हत्यारा, बलत्कार, मेडिकल माफिया लगायत घटनाका दोषीलाई कारबाही नगरे सम्म आफ्नो आन्दोलन जारी राख्ने नेविसंघले बताएको छ ।