सरकारकाे एक्सन: आन्दोलन गर्ने चिकित्सकलाई ६ महिना जेल !
  • अनलाइनपाना सम्बाददाता
  • शनिबार, माघ १९, २०७५
  • काठमाडौँ

अनशनरत डा. गोविन्द केसीलाई साथ दिँदै आन्दोलनमा उत्रिएका चिकित्सकहरुमाथि सरकारले कडा कारबाही गर्ने भएको छ । कानुन विपरीत स्वास्थ्य सेवा अवरुद्ध गर्ने चिकित्सकमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारवाही थाल्ने भएको हो ।

मन्त्रालयले स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम फिर्ता नलिए कारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले आन्दोलन गर्ने र आन्दोलनमा सहभागी हुने चिकित्सकबारे अत्यावश्यक सेवा संचालन ऐन २०१४ लागू गर्ने बताएको हो ।

सहसचिव जनार्दन गुरागाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरुमा सेवा यथावत सञ्चालन गर्न मन्त्रालयले अपिल गरेको छ । विरोध फिर्ता नलिए आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालय बाध्य हुने बताएको छ ।

ऐनमा स्वास्थ्य संस्था, अस्पताल बन्द गरी वा सेवा अवरुद्ध बनाएर आन्दोलन, बन्द, हड्ताल जस्ता कार्यमा उत्रने चिकित्सक माथि ६ महिना कैदको व्यवस्था गरेको छ । तत्काल सेवा संचालन नगरे सोही ऐन बमोजिम कारवाही गर्न सरकारले प्रक्रिया थालेको हो ।