कम्यूष्टि सरकारमाथि खनिए कांग्रेस नेता, निर्मला पन्तका हत्यारालाई ओलीले गरे ढाकछोप !
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र १६, २०७५
  • गुल्मी

कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको खुलेर चर्को विरोध गरेका छन् ।

पार्टीको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न शुक्रबार तम्घास आएका नेताहरूले सरकार भ्रष्टाचारमा फसेको, सुशासन कायम गर्न नसकेको, विकासका नाममा गफ मात्रै गरेको, देशलाई द्वन्द्वतर्फ धकेलेको, न्यायपालिका, सञ्चारलगायत क्षेत्रमा हस्तक्षेप गरेर अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।

सभापति देउवाले डेढ वर्षमा ओली सरकारले एउटा पनि देखिने काम नगरेको बताए । हत्या, हिंसा र बलात्कार बढेको, महिला एक्लै हिँड्न डराउन थालेको र निर्मला पन्तका हत्यारालाई सरकारले ढाकछोप गरेको उनले आरोप लगाए ।

नेत्रविक्रम चन्दका गतिविधिमाथि कडाइ गर्ने निर्णयप्रति इंगित गर्दै पूर्वप्रधानमन्त्री देउवाले सरकार देशलाई अशान्ति र द्वन्द्वतर्फ धकेल्न उद्यत रहेको बताए । आउँदो चुनावमा पार्टीलाई पहिलो बनाएरै छाड्ने प्रतिबद्धता उनले जनाए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले देश भ्रष्टाचारमा डुबेको बताए । जहाज आवश्यक छ कि छैन, चल्छ कि चल्दैन मूल्यांकन नगरी कमिसन खानलाई ओली सरकारले जहाज किन्यो, उनले भने, ओली प्रधानमन्त्री भएपछि देशमा सुशासन कायम गर्छु, भ्रष्टाचार हुन दिन्न भन्दा राम्रो गर्लान् भन्ठानेर बधाई दिएको थिएँ, अहिले ठीक उल्टो काम गरे ।

तराईमा सिँचाइ सुविधा पुर्‍याउन छाडेर पानीजहाज ल्याउन खोज्नु ठीक नभएको उनले दाबी गरे ।महामन्त्री शशांक कोइरालाले नेताहरूबीचको गुटरउपगुटकै कारण चुनाव हार्नुपरेको र पार्टी एकढिक्का भएर अघि बढ्न नसकेको बताए ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले विगतमा गरेका काम र देउवाको प्रशंसा गर्नमै समय खर्चिए । उनले कांग्रेस हारेर भए पनि देश जोगाएको बताए । कांग्रेसले जोगाएको देशमा ओलीले भाँडभैलो मच्चाउन खोजेको उनको आरोप छ । केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, डा. डिला संग्रौलालगायत नेताले पनि सरकारकै आलोचना गरे ।

कार्यक्रममा प्रदेश ५ का जिल्ला सभापतिहरू सहभागी थिए । उनीहरूले पार्टीभित्र गुटरउपगुट अन्त्य गर्नुपर्ने बताए । गुल्मी सभापति भुवन श्रेष्ठले पार्टीभित्र गुटरउपगुट अन्त्य गर्न केन्द्रीय नेतालाई सुझाव दिए । महासमिति बैठकमा जिल्ला सभापतिले दिएको सुझावअनुसार अघि बढ्न उनले आग्रह गरे ।

पाल्पा सभापति वीरबहादुर रानाले कम्युनिस्ट सरकारको गलत क्रियाकलापले जनता कांग्रेसप्रति आशावादी भएका बेला शीर्ष नेताले यो गुट, त्यो गुट भन्न छाड्नुपर्ने बताए । दुई दिन चल्ने सम्मेलन उद्घाटनमा अर्घाखाँची, पाल्पालगायत जिल्लाबाट कार्यकर्ता सहभागी थिए ।