कलिङ भिसा पाएका कामदारले सोमबारबाट मलेसियाको श्रम स्वीकृति पाउने
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र १७, २०७५
  • काठमाडौँ

यसअघि नै कलिङ भिसा पाइसकेकाहरूले भोलिबाट मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन् ।यसका लागि वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै भोलिदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको छ ।

नेपाल सरकारको तथ्यांकअनुसार अहिलेसम्म ७ हजार नेपालीले यस्तो भिसा लिएका छन् तर सरकारले श्रम स्वीकृति रोकिराखेकाले जान पाएका थिएनन् ।वैदेशिक रोजगार विभागले मलेसियन राजदूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ ।

भोलिदेखि कलिङको लागि खुले पनि नयाँको लागि भने एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ ।

मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले कामदारको स्वास्थ्य जाँचमा योग्य नयाँ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गरिसकेको छ ।