सुदूरपश्चिम सरकारले पनि हावाहुरी पीडितलाई एक करोड उपलब्ध गराउने
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, चैत्र १९, २०७५
  • काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारले पनि हावाहुरी पीडितलाई एक करोड राहत दिने निर्णय गरेको छ। पर्सा र बारामा ज्यान गुमाएका परिवार, घाइते र विस्थापित परिवारलाई एक करोड राहत दिने निर्णय भएको हो।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहतस्वरुप एक करोड दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवम् कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए।

मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए । यस्तै मन्त्रिपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दुस्खसमेत व्यक्त गरेको छ।

यसअघि मङ्गलबार नै बसेको प्रदेश नम्बर ३ को मन्त्रिपरिषद्को बैठकले राहतस्वरुप एक करोड रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

आइतबार राति आएको हावाहुरीले बारा र पर्सामा ठूलो धनजनको क्षति गरेको थियो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रभावित क्षेत्र पुगेका छन् ।