कांग्रेसको आन्दोलनबारे नेकपाको कटाक्ष, आरोप–प्रत्यारोपले उग्र रुप लिएपछि…
  • अनलाइनपाना सम्बाददाता
  • सोमवार, माघ २१, २०७५
  • काठमाडौँ

पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप बढ्दै गएको छ ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै सत्तारुढ दल नेकपा र प्रतिपक्ष दल कांग्रेसका नेताहरु एकअर्कालाई गलत ठहर्याउन प्रयास गरे ।

नेकपाका नेता महेश बस्नेतले नेपालको लोकतान्त्रिक इतिहासमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको स्विकार गर्दै अबका दिनमा कांग्रेसले आन्दोलन गर्न जरुरी नभएको तर्क गरे ।विगतमा आफूहरुले पनि संसदीय अभ्यासका क्रममा केही गल्तीहरु गरेको स्विकार गर्दै बस्नेतले अहिले कांग्रेसले त्यही गल्ती गरेको आरोप लगाए ।

यता कांग्रेसका नेता भिमसेनदास प्रधानले भने केपी ओलीको नेतृत्वमा बनेको सरकारले एक वर्षमा जनहितमा काम गर्नुको साँटो बहुमतको दम्भ देखाउन थालेकाले विरोधमा उत्रिनुपरेको स्पष्ट पारे ।

प्रधानले निर्मला प्रकरणको छानविन र वाइडबडी प्रकरणमा दोषीलाई कारबाहीको दायरामा ल्याउन असफल भएकाले सरकारलाई दबाब दिनुपरेको बताए ।कार्यक्रममा मधेशवादी नेता सत्यनारायण मण्डलले पनि सरकारले उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाए ।