बर्दियाको भौंरा क्षेत्रमा स्मार्ट कृषि गाउँ शुभारम्भ
  • सन्तोष पौडेल
  • शुक्रबार, चैत्र २२, २०७५
  • बर्दिया

कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाई किसानको दिगो आयस्तर बृद्धिगर्ने उद्देश्यले प्रदेश सरकार अन्तगर्त बर्दियाको भौंरा क्षेत्रमा स्मार्ट कृषि गाउँको शुभारम्भ गरिएको छ ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा संचालन हुने कार्यक्रम अन्तर्गत शुक्रवार भौंरा क्षेत्रको राजापुर नगरपालिका वडा नं. ५ मुख्यजयपुरमा स्मार्ट कृषि गाउँको एक कार्यक्रमका बिच केराको विरुवा रोपेर शुभारम्भ गरिएको हो ।

स्मार्ट कृषि गाउँको शुभारम्भ गर्दै प्रदेश नम्वर ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँमा किसानहरुको मेहेनत भएर बिज्ञहरुको सल्लाहअनुसार अघि बढन सकेमा किसानले उत्पादन गरेको बस्तुहरु बेच्ने व्यवस्था आफुहरुले गर्ने बताईन । ‘यो कार्यक्रम सफल बनाउन तपाईहरुको मेहेनतको खाँचो छ’, स्मार्ट कृषि गाउँको समुद्धघाट्न समारोहमा बोल्दै उनले भनिन् ‘उत्पादन गर्न सघाउनुका साथै बजारसम्म पु-याउने काममा हामी सघाउछौ ।’

स्मार्ट कृषि प्रदेश कार्यक्रम मन्त्रालयको गौरवको विषय भएको बताउँदै मन्त्री पौडेलले किसानलाई उच्चस्तरीय प्राविधिक सेवा उपलब्ध गराउन सरोकारवाला निकायसंग सयुक्त रुपमा काम गर्ने गरी अघि बढने प्रतिवद्धता जनाएको बताईन । त्यसको लागि कृषि मन्त्रालयमात्र नभएर र किसानको वारी र गोठसम्म अव नार्कका बैज्ञानिक र रामपुर स्थित कृषि विश्वविद्यालयका विज्ञहरु आउने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रमुखअथिति प्रदेश सांसद दिपेश थारुले स्मार्ट कृषि गाउँको शुभारम्भ संगै अब स्थानीय कृषकको काँधमा कस्तो गाउँ बनाउने जिम्मेवारी थपिएको बताए । थारुले देश निर्माणमा सबैको सहभागिता आवश्यक रहेको बताउँदै जिम्मेवारीपूर्वक र नीतिनियमअनुसार स्मार्ट कृषि गाउँलाई कार्यान्वयममा ल्याएको खण्डमा आवश्यक सहयोगको व्यवस्था गर्न पहलगर्ने आफ्नो दाहित्व भएको बताए । उनले स्मार्ट कृषि गाउँ निर्माण संग संगै किसानले उत्पादन गरेका बस्तुहरु सजिलै उचित मूल्यमा बिक्रि गर्नका लागि बजारीकरणको ब्यवस्था गर्न सरकार संग माग गरे ।

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले स्थानीय सरकारले आफ्ना सबै नागरिकहरू उत्पादनसँग जोडिउन् भन्ने उद्देश्यले विभिन्न नीतिहरू अबलम्बन गरेको बताउँदै उत्पादनसँग जोडिन यान्त्रिकीकरणको भरपूर सहयोग लिएर आधुनिक कृषि प्रणालीलाई विकास गर्न स्थानीय तह तयार रहेको प्रतिवद्धता जनाए ।

समुद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र बाकेका प्रमुख सागर ढकालले स्मार्टकृषि गाउँमा संचालन गरिने कार्यक्रमका ५ वटा सम्भागहरु समावेस गरिएको बताए । ‘प्रस्तावित गाउँमा जलवायु, सिंचाई, पोषकतत्व, प्रविधि र बजार स्मार्ट बनाउनका लागि तोकीएको सम्भागमा छुट्टयाईएको बजेट सोही सम्भागमा खर्च गर्नुपर्ने छ’ उनले भने ।

स्मार्ट कृषि गाउँ विगतका कृषि कार्यक्रम भन्दा फरक रहेको बताउँदै उनले विगतको कृषि कार्यक्रम कुनै एउटा पक्षमा रहेर मात्र काम भएकोमा यो कार्यक्रम सिचाई, जलवायु अनुकुलन, माटोको व्यवस्थापन, उच्चस्तरीय प्रविधि, बजार व्यवस्था, खाद्धपोषण जस्ता एकीकृत विकास गर्ने मोडेल भएको बताए ।

कार्यक्रम अन्तगर्त निर्वाचन क्षेत्रअनुसार छनोट हुने प्रत्येक स्मार्ट कृषि गाउँका लागि यसबर्ष ५० लाख रुपैयाँका दरले रकम विनियोजन भएको प्रमुख सागर ढकालको भनाई छ । यसैबीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति संयोजक जगतलाल चौधरी सहितको टिमलाई प्रदेश सरकारले तयार पारेको स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन कार्यविधि २०७५ हस्तान्तरण गरेकी थिईन ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बर्दियामा राजापुर ५ मुख्यजयपुर सहित मधुवन ८ शिवनगर, गुलरिया ५ तुल्सीपुर र बढैयाताल गाउँपालिका स्थित बकोटीयामा स्मार्ट कृषि गाउँ छनोट गरिएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर ८ शिवनगर, गुलरिया ५ तुल्सीपुर र बढैयाताल गाउँपालिका स्थित बकोटीयामा यस अघिनै स्मार्ट कृषि गाउँ शुभारम्भ गरिसकिएको छ ।