पोखरामा गगन थापालाई नेविसंघको कालो झण्डा
  • अनलाइनपाना सम्बाददाता
  • सोमवार, माघ २१, २०७५
  • काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापालाई नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कालो झण्डा देखाएको छ।गत शनिबार सरकारी गाडीमा नेविसंघले आगो लगाएको विषयमा आइतबार फेसबुक मार्फत घटनाको निन्दा र नेविसंघको आलोचना गरेको भन्दै थापालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्वकाे समूहले कालो झण्डा देखाएको हो।

सोमबार सरकारलाई खबरदारी गर्न देशभर प्रदर्शन कार्यक्रमको आयोजना गरेको कांग्रेसलेपोखरामा गरेको विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्न पोखरा पुगेका नेता थापालाई कालोझण्डा देखाएर उनिहरुले विरोध गरेका हुन् ।

नेविसंघ कास्कीका सभापति थापा समूहले आगजनीको विषयमा आफ्ना नेता गगन थापाले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाउँदै उनले माफी माग्नु पर्ने माग गरेको छ। पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्न पहल गर्नुको साटो कारवाहीको लागि झन् पहल गरेको भन्दै कार्यकर्ता आक्रोशित भएर कालो झण्डा देखाएको हुन सक्ने कांग्रेस निकट नेताहरुको भनाइ छ।

‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईको धारणा के हो, भनेर थुप्रै साथीहरुको प्रश्न रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु,’ नेता गगन थापाले फेसबुकमा सार्वजनिक गरेका छन्।

नेता थापालाई कालो झण्डा देखाएको प्रति नेपाली कांग्रेस कास्कीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन्। नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले भने यस विषयमा छलफल पछि मात्रै विस्तृत सार्वजनिक गरिने जानकारी दिए।