नेकपामा एकताको भ्यागुताको धार्नी कहिले पुग्ने ?
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, बैशाख १३, २०७६
  • काठमाडौँ

पार्टी एकता घोषणा भएको ११ महिनापछि मात्र जिल्ला नेतृत्वमा सहमती जुटाएका प्रमुख सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) नेताहरु अझै पोलिटव्यूरो गठनमा सहमति जुटाउन सकेका छैनन् ।गत ३ जेठमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणा हुँदा ३ महिनाभित्र एकताका सबै काम सक्ने भनिएको थियो । तर, एक बर्ष पुग्न लाग्दासम्म एकताका धेरै काम पुरा हुँन बाँकी छन् ।

२००६ मा नेकपा स्थापना भएको ७० बर्ष पुगेको अवसर पारेर नेकपाले पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जिल्ला कमिटीहरुको एकता ग-यो ।नेकपालाई एकताको क्रममा सबैभन्दा हम्मे नै जिल्ला कमिटीहरुको एकता टुङ्ग्याउन प-यो । जिल्ला नेतृत्वका लागि पूर्व एमाले र माओवादी केन्द्रबीचको भागबण्डा भन्दा पूर्व एमालेभित्रैको भागबण्डा सबैभन्दा अप्ठेरो प-यो ।

जिल्ला नेतृत्वको लफडा सकिए पनि जिल्ला कमिटीहरुले अझै पूर्णता पाइसकेका छैनन् । जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको मापदण्ड सोमबारै सार्वजनिक गरेपनि मनोनयन भने भएका छैनन् ।

नेकपा केन्द्रीय सचिवालयले गरेको यो निर्णयका आधारमा पनि के भन्न सकिन्छ भने नेकपामा जिल्ला कमिटीहरुबीचको एकताले अझै पूर्णता पाइसकेको छैन । तर, नेतृत्व चयनसम्बन्धी सबैभन्दा जटिल विषय भने टुङ्ग्याएको छ ।

तर, जिल्ला कमिटी जस्तै अन्य केन्द्रीय निकायहरुको एकता भने नेकपाले अझै टुङ्ग्याउन सकेको छैन । विभिन्न जनवर्गीय संगठन, मोर्चा, विभाग र आयोगहरु एकिकरण भएका छैनन ।

पूर्व घटकहरु एमाले र माओवादी केन्द्रका विद्यार्थी, युवा, मजदुर, महिला, कर्मचारी लगायत दर्जन भन्दा बढी जनवर्गीय संगठनहरु एकिकरण भएका छैनन् ।ती संगठनको नेतृत्व कसले पाउने भन्नेमा अझै सहमति जुटेको छैन । अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगजस्ता शक्तिशाली आयोग पनि एकिकरण भएका छैनन् ।

नेतृत्व टुङ्ग्याएर तिनको एकताको सफलता पनि नेतृत्वले पाउन सकेको छैन । दुबै पार्टीका विभिन्न जातीय मोर्चा र संगठन छन् । तिनीहरुको नेतृत्वमा पनि अझै सहमति जुट्न सकेको छैन ।नेकपाले अहिलेसम्म केन्द्रीय कमिटी, स्थायी कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी (नेतृत्व) मात्रै टुंग्याएको छ । दुबै पार्टीको अध्यक्ष तहमा पनि एकता भएको छ ।

जस अनुसार, ‘सहअध्यक्षता’ व्यवस्थाको प्रावधान अनुसार पूर्व एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) दुबै नेकपाको अध्यक्ष बनेका छन् ।दर्जन भन्दा बढी जनवर्गीय संगठन, आधा दर्जन जति मोर्चाहरु, पौने दर्जनजति विभागहरु र तीन वटा विभागको एकता अझै टुङ्गिन सकेको छैन ।

अहिलेसम्म हेर्दा नेकपा एकता करिव पचास प्रतिसत टुङ्गिएको छ भने पचास प्रतिसत एकता हुन बाँकी नै छ । अब पोलिट्ब्यूरो गठनका लागि कसरत सुरु भएपनि दुई घटकमा सहमति भने हुन सकेको छैन ।

नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाई– १ सय ४७ सदस्यीय पोलिट्ब्यूरोमा पूर्व एमाले र पूर्व माओवादीबाट क्रमशः ५५ र ४५ प्रतिशतको अनुपात अर्थात् क्रमशः ८२ र ६५ जना सदस्य रहने सहमती भएको बताइन्छ । तर, औपचारिक रुपमा बाहिर आएको छैन । तर, पनि दुबैतर्फका दाबेदारहरू अहिले दौडधुपमा लागेका छन् ।

नेकपाका एक जना सचिवालय सदस्यका अनुसार एमालेमा पोलिटब्यूरो सदस्य रहेकाहरू सबै नेकपामा पनि रहने नीति बनेकाले पूर्व एमालेतर्फ पोलिट्ब्यूरोका लागि त्यति समस्या छैन । माओवादीतर्फ भने समस्या देखिएको छ । अभियान टाइम्सका साथमा ।