२ बूँदे सहमति उपेन्द्रको जागिर टिकाउने अस्त्र
  • अनलाइनपाना संवाददाता
  • सोमवार, जेष्ठ २७, २०७६
  • काठमाडौँ

पार्टीको नाम औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता नभइसकेको संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जागिर २ बूँदे सहमतिले टिकिरहेको छ ।

१ वर्षअघि सरकारमा जाँदा यादव नेतृत्वको तत्कालीन संघीय समाजबादी फोरम नेपालले सरकारसँग संविधान संशोधन गर्ने मुख्य मुद्या अघि सारेर २ बूँदे सहमति गरेको थियो । सहमति पालना गर्न दबाब दिने उद्येश्यले सरकारमा सहभागी भएको भनिएपनि अहिले सहमति जागिर टिकाउने अस्त्र बनेको छ ।

यही सहमतिलाई देखाएर उपेन्द्रसहित अर्का १ मन्त्री र स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पनि बनेका छन् । सरकारले पटकपटक सरकारमा सहभागी हुन बोलाएपनि अत्यन्तै भाउ खोजेर मन्त्रालयमा वार्गेनिङ गरेको फोरम एमाले र माओवादीबीचको एकता भएपछि २ वटा मन्त्रालयमा चित्त बुझाउन वाध्य भयो ।

सरकारले संविधान संशोधन गर्न नचाहे एकैछिन पनि सरकारमा बस्ने रहर छैन भन्दै आएपनि उपेन्द्रले जनताको आँखामा छारो हालेर स्वार्थ पूरा गरिरहेका छन् ।

सरकारले एक वर्षको अवधिमा संविधान संशोधनसम्बन्धी कुनै प्रक्रिया अघि बढाएको छैन तर उपेन्द्रहरु भने संशोधनकै नारा लगाएर ढाँटको खेति गरिरहेका छन् । सरकार गौण हो तर एजेण्डा मुख्य मुद्या हो भन्दै आएपनि अहिले उपेन्द्रको बोली र व्यवहारमा भिन्नता आइसकेको छ ।

नयाँ शक्ति पार्टी नेपालसँग ४० दिनअघि एकता गरेका उनीहरुले पार्टीको नाम समाजवादी पार्टि नेपाल राख्ने भनेका छन् तर यो पार्टीको नाममा पहिले नै अर्को पार्टी भएकाले अब के गर्ने भन्नेमा पनि उनीहरु अलमलमा छन् । उपेन्द्रका १६ र बाबुरामका १ गरी अहिले यो पार्टीसँग १७ सांसद् छन् ।