सानो हुँदा नै बाबुआमाले पनि मलाई मान्नुपर्छ भन्थे कमल थापा
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । उनी अहिलेमात्र होइन केटाकेटी हुँदादेखि नै तानाशाही र सबैले आफूलाई मान्नुपर्छं भन्ने महत्वाकांक्षा राख्ने गर्दथे । यतिसम्म कि उनी बुबाआमाले पनि मलाई नै मान्नुपर्छ भन्नसमेत भ्याउँथे । छोराछोरी जे जस्तो पदमा पुगेपनि बाबुआमाका लागि भने सानै हुन्छन् उनले यो कुरा कहिल्यै पनि सम्झिएनन् ।

उनका बाबुको नाम छत्रबहादुर हो । मकवानपुरको भुटनदेवी प्राविमा प्रारम्भिक शिक्षा लिएका उनी सानैदेखि नेतृत्व लिन भने रहर गर्थे । स्काउटमा रमाउने उनी अर्काले बोकिदिएको झण्डामा अगाडि नै देखिन्थे तर आफू भने झण्डा पक्रन मान्दैनथे । राप्रपालाई यहाँसम्म ल्याउने पनि उनी नै हुन् तर बनिसकेको राप्रपालाई बिगार्न उनकै भूमिका रहेको छ । सधैं शासनसत्तामा बसेर रमाइरहने उनको स्वभाव नै हो उनी अरु कसैलाई पार्टीमा उदाउन दिदैनन् ।

केपी शर्मा ओलीको अघिल्लो सरकारमा उनी उपप्रधानमन्त्रीसहित स्थानीय बिकास र परराष्ट्रमन्त्री भए । एक्लै २ वटा महत्वपूर्ण मन्त्रालय खाएका उनले अरु कसैलाई मतलब गरेनन् । उनी अरुलाई मन्त्रालय चलाउन जान्दैनन् त्यसैले अध्यक्षज्यूले एक्लै मन्त्रालय चलाउनुभएको भनेर भन्न कार्यकर्तालाई लगाउँथे ।

प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचन लडेका उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कृष्णप्रसाद दाहालसँग नराम्ररी पराजित भए । मकवानपुरभरी स्थानीय तहको निर्वाचनमा एकजना दलित महिला सदस्यले मात्र जितिन् । पार्टी क्रमशः कमजोर भएर गए पनि उनी केन्द्रीय अध्यक्ष भनेर हिँडेका छन् । उनको पार्टी अहिले राष्ट्रिय पार्टी बन्न सकेन ।

पार्टीका नेताहरु उनलाई उच्च सम्मान गर्दै ‘सम्माननीय अध्यक्ष’ भन्ने गर्दछन् । नेपालमा राष्ट्रपति, प्रधानमन्त्री , प्रधान न्यायाधीश, प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई मात्र सम्माननीय भन्ने गरिन्छ । उनी अहिलेसम्म त्यो पदमा पुगेका छैनन् । आफ्नो विचार र सिद्धान्त राम्रो भएको चर्चा गर्ने उनी पार्टीमा र स्वभावमा भने निरंकुश बन्दै गएका छन् । आफ्नो विरोधमा कसैले बोले तत्कालै कारवाही गर्न सक्ने क्षमताका थापालाई उपप्रधानमन्त्री हुने रहर अझै मरेको छैन । तर अहिले त्यो सपनामा पनि देख्न पाउने सम्भावना छैन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्रीसहित उर्जामन्त्री थिए । अन्तिम समयमा आफ्नै पार्टीका शहरी बिकासमन्त्री दिलनाथ गिरीलाई हटाएर त्यो मन्त्रालय पनि सम्हाल्ने रहर गरे । यसमा राज्यमन्त्री कुन्तिकुमारी शाही थिइन् । गिरीले आफूखुशी सचिव परिवर्तन गरेको भन्दै मन्त्रीबाट थापाले उनलाई हटाएको स्पष्टीकरण दिएका थिए ।

स्रोतका अनुसार शहरी बिकास मन्त्रालयअन्तर्गतको कुनै ठेक्कापट्टामा शाहीसँग कसैको कुरा मिलिसकेको थियो, जसबाट ठूलो रकम आउने थियो त्यसैबेला गिरीले नमानेपछि गिरीले कारवाही भोग्नुपरेको हो ।

शाही राप्रपामा पटकपटक अवसर पाउने भाग्यमानीमध्ये एक हुन् । २०६४ सालमा र २०७० मा पनि समानुपातिक सांसद् उनी संसदीय दलको प्रमुख सचेतक र २ पटक राज्यमन्त्री भइन् । सानो पार्टीमा यति धेरै ठूलो अवसर हत्तपत्त जोसुकैलाई मिल्दैन । संविधानको विरोधमा बोलेपनि त्यही संविधानअनुसार गठन भएको सरकारमा भने जान छेकेन ।

थापाले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्धालाई फेरि पनि व्यापार गर्ने दाउ गरेका छन् । राजसंस्थाको पक्षमा बोलेजस्तो गरेको भएपनि त्यसको लागि सक्रिय भएर नलागेको आरोप लाग्दै आएको छ । राप्रपाले फागुन १५ देखि संचालन गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समापन गरेको छ ।

यात्राका क्रममा थापाले पछिल्लो समयमा प्रचण्ड र शेरबहादुर देउवाको नेतृत्वको सरकारमा जानु गलत भएको भनेर लाज पचाउने काम गरेका छन् । तर जनता निकै बाठा भएकाले अब थापाको आश्वासन पत्याउन छोडिसकेका छन् ।

पूर्वराजाको नाममा उनी अझै राजनीति गरिरहेका छन् । तर ज्ञानेन्द्रले भने पत्याउन छोडेको जनाइएको छ । ज्ञानेन्द्रले आफ्ना शुभचिन्तकसँग अब थापाबाट आफूलाई केही पनि सहयोग नहुने भनेर बुझिसकेको गुनासो गरेका छन् । हिजो ज्ञानेन्द्रसँग पार्टीका जो मानिस गएपनि उनी कमल थापाको पार्टीमा कार्यकर्ता बनाएर पठाउने गरेका थिए ।

अहिले एकातिर ज्ञानेन्द्रले पनि पत्याउन छोडेपछि र संसदमा पनि उनको हैसियत गुमेपछि र सांसद् भएर उपप्रधानमन्त्री बन्ने सपना पूरा नहुने भएपछि थापा छटपटाउन थालेका छन् ।