भ्रष्टाचार : बाफरे सुब्बा साप !
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र २३, २०७५
  • काठमाडौँ

पदको दुरुपयोगरी गैरकानुनीरुपमा सम्पति आर्जन गर्नेमा प्राय उच्चपदस्थहरु हुन्छन् तर अख्तियारको कारवाहीमा निम्न र तल्लो स्तरका कर्मचारी पर्ने गरेका छन् । नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाको सूची हेर्ने हो भने भ्रष्टमा सुब्वा देखिन्छन् । तर भ्रष्टाचार उनीहरुले मात्र गरेका हुँदैनन् । यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौँको भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ । लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ । तीनै जनको मुद्दा अदालतमा विचारधीन छ । अन्नपूर्णपोष्टका सुरेन्द्र पाण्डेल समाचार लेखेका छन् ।

यस्तै अकुत सम्पत्ति आर्जनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा ‘रेडयो अपरेटर’ श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध १४ करोड ६१ बिगोसहितको मुद्दा छ। उनीमाथि लगाइएको ३३ किलो सुन तस्करीको मुद्दा भने सर्वोच्चमा विचाराधीन छ। धरौटीबापत बैंक ग्यारेन्टी राखेर श्रेष्ठ तारेखमा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेमाथि न्यायाधीश बाबुकाजी बानियाँको ‘बिचौलिया’ बनेको आरोप छ। उनी न्यायाधीशको निर्देशनमा सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा पक्राउ परेका थिए। उनीविरुद्ध अख्तियारले मुद्दा चलाइसकेको छ।

न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकाल २४ लाख ४६ हजार भ्रष्टाचारमा मुछिएका छन्। उनीविरुद्ध अख्तियारले सरकारी रकम हिनामिना गरी निजी प्रयोगमा ल्याएको आरोपमा मुद्दा चलाएको छ।

कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका इलामका तत्कालीन लेखा प्रमुख रबिनचन्द्र ढकालविरुद्ध सबा सात करोड बिगोसहितको मुद्दा चलाइएको छ। नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठूलो रकम सारेर उनले भ्रष्टाचार गरेका थिए। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा १४ लाख ८९ हजार हिनामिना गरेको आरोप उनीमाथि छ। ढकाल हिरासतमा छन्।