स्थानीय पत्रिकाका सम्पादकीयमा कालो
  • अनलाइनपाना संवाददाता
  • बुधबार, बैशाख ४, २०७६
  • काठमाडौँ

पत्रिकाको सम्पादकीयमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्किप एड गर्न, एफएममा पूर्वसूचना दिई बिहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्न पत्रकार महासंघ कास्कीको आग्रह

ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा पोखराबाट बुधबार प्रकाशित पत्रिकामा कालो पोतेर विरोध जनाइएको छ।

पोखराबाट प्रकाशित हुने पत्रिकाको सम्पादकीयमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्किप एड गर्न, एफएममा पूर्वसूचना दिई बिहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्न पत्रकार महासंघ कास्कीले आग्रह गरेको थियो ।

प्रेस स्वतन्त्रताका लागि सांकेतिक विरोधमा ऐक्यबद्धता जनाइदिनसमेत पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्तिमार्फत आग्रह गरे थिए । गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार ३ दिन म्याद थप गरेको छ ।

विपेन्द्रराज बतासले ठगी गरेको समाचार चैत २२ को अंकमा लेखेका गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। पत्रिका प्रेस काउन्सिलमा दर्ता नभएको आरोपमा गिरीलाई पक्राउ गरे पनि ताण्डव र अनलाइन दुवै काउन्सिलमा दर्ता छन् ।

पत्रकारलाई साइबर क्राइमको कानुन देखाएर तर्साउन खोजेको भन्दै पत्रकारहरुले सामाजिक सञ्जालमा पत्रकारिता साइबर अपराध होइन लेखेका छन् ।