समस्यालाई थप नबल्झाउ
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

सरकारले निजामती कर्मचारीले बढुवा हुन दुर्गममा सेवा नगरे पनि हुने गरी नयाँ विधेयक विचाराधीन अवस्थामा राखिएको छ । संसदको राज्यव्यवस्था समितिमा विचाराधीन रहेको विधेयकले निम्त्याउन सक्ने समस्यालाई संसदले राम्रोसँग विचार गर्न आवश्यक छ । किनभने, अहिलेपनि दुर्गम क्षेत्रमा कर्मचारीको अपुग छ ।

उक्त विधेयक वर्तमान अवस्थाकालागि सकारात्मक छैन किनभने दुर्गम क्षेत्रमा सरकारले अहिलेसम्म पनि उचित तरिकाले कर्मचारी व्यवस्थापन गर्न सकिरहेको छैन । दुर्गम क्षेत्रमा अहिले पनि धेरै कर्मचारीहरु आवश्यक छ । कर्मचारी नहुँदा नागरिकले सुविधा पाउन सकिरहेका छैनन् ।

कर्मचारी आपूर्ति गर्न पनि नसक्ने र दुर्गममा जाँदा बढुवाकालागि थप अंकको प्रावधान पनि हटाउदा दुर्गम क्षेत्रमा कुन कर्मचारीले काम गर्ने भन्ने प्रश्न उठ्न सक्छ । किनभने, अंककै लागि पनि केहि कर्मचारीहरु दुर्गम क्षेत्रमा काम गर्न जान्छन् । तसर्थ, अहिलेको अवस्थामा संसदले दुर्गम क्षेत्रमा काम गर्न चाहने कर्मचारीको सुविधा बढाउन आवश्यक छ ।

दुर्गम क्षेत्रको जिन्दगी कष्टकर रहेको हुँदा कर्मचारीलाई थप प्रोत्साहित गर्न अहिलेको भन्दा बढि सुविधा दिएर कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आवश्यक छ । त्यसैगरि,सुविधा बढाएपछि पनि दुर्गम क्षेत्रमा सुविधा दिन नसक्ने कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन पनि सरकाले कुनै कदम छोड्नुहुदैँन ।

अतः विचाराधिन अवस्थामा रहेको विधेयकको समग्र पक्षलाई सोचिनुपर्छ । अन्यथा, आगामी दिनमा दुर्गम क्षेत्रमा अहिलेको भन्दा कम कर्मचारी नदेखिएलान् भन्न सकिन्न ।