द्वन्दको अवस्था सिर्जना नगर
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, फाल्गुन ३०, २०७५
  • काठमाडौँ

तत्कालिन माओवादीले शुरु गरेको १० वर्षे जनयुद्धको घाउ मेट्न नपाउँदै नेपाली जनता फेरिपनि द्वन्दबाट त्रसित हुनेपरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीले विभिन्न समयमा कानुन विपरित गतिविधि गर्नु र सरकारले उक्त पार्टीलाई प्रतिबन्ध लगाउनुले जनतामा भय बढेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विभिन्न प्रतिक्रियाहरु आईरहेको छ । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । सरकारको यो निर्णयसँगै विप्लव समूहले पनि राज्यले दमन गरे प्रतिवादमा उत्रने बताएको छ ।

सरकारको निर्णय अपरिपक्व भएको भन्दै सत्तारुढ दलकै नेताहरुले बताइरहेका छन् । त्यसैगरि, विप्लव समूहको क्रियाकलापले सुरक्षाको चुनौति बढाएको भन्दै अर्को पक्षले सरकारको निर्णयलाई स्वागत गरेको अवस्था छ । यस्तो अवस्थामा सरकारले असन्तुष्ट रहेको समूहसँग वार्ता र छलफल गरि समस्याको समाधान खोज्न जरुरी छ । त्यसैगरि, जनताकैलागि भनेर लडिरहेका विप्लव समूह पनि सरकारसँग वार्तामा बस्न आवश्यक छ ।

अन्यथा, आगामी दिनमा देशले फेरि अर्को द्वन्दको सामना नगर्नुपर्ला भन्न सकिन्न । तसर्थ, सरकारले असन्तुष्ट रहेको समूहलाई निरन्तर वार्ताको वार्ताको माध्यमबाट मुलधार राजनितिमा ल्याउन पहल गर्नुपर्छ । यतिमात्र नभएर असन्तुष्ट पक्षले पनि समाजमा त्रास फैलाउने गतिविधिलाई त्यागेर छलफलमा आउन आवश्यक छ । अतः सरकार र असन्तुष्ट पक्षबिचको छलफलले मात्रै समस्याको समाधान निस्कने हुँदा अनावश्यक युद्धको परिकल्पना कसैले गर्नुहुदैन ।