औषधि विक्रीमा बदमासी बन्द गर
  • अनलाइनपाना संवाददाता
  • बुधबार, चैत्र २७, २०७५
  • काठमाडौँ

निकै संवेदनशील रहेको औषधि व्यवसायको क्षेत्र लागुऔषधको विक्रीका रुपमा स्थापित हुदैँ आएको छ । जिल्लामा रहेका केहि औषधि पसलहरुले रेकर्ड राखेर मात्र आवश्यकताअनुसार बिक्री गर्न पाउने औषधि मनलाग्दी बिक्री गरिरहेको गुनासो बढ्दो छ । बिरामीलाई दिने औषधि अनुमतिपत्र (प्रेसक्रिप्सन) को दुरुपयोग भएको देखिएको छ ।

खासगरी बिरामीको उपचारका लागि दिइएका केही औषधि लागूऔषधको रुपमा प्रयोग भएको देखिएको छ । चिकित्सकको प्रेसक्रिप्सनबिना प्रयोग गर्न नपाइने औषधि बिरामीले भन्दा पनि बिरामीको बहानामा लागूऔषध प्रयोगकर्ताले सेवन गर्ने गरेको पाइएको छ ।

जिल्लामा संचालनमा रहेका केहि मेडिकल पसलहरुले लागूऔषध प्रयोगकर्तालाई बेच्दै आएको गुनासो बढिरहेको छ । जिल्लामा लागूऔषध प्रयोग गर्ने युवाहरुलाई चर्को मूल्यमा औषधी विक्रि गरेको आरोपमा केहि समयअघि मेडिकल संचालकलाई पक्राउ गरि कार्वाही गरेको थियो । तर, अहिले पनि केहि मेडिकल पसलहरुले लागूऔषध प्रयोगकर्तालाई औषधि बेच्ने गरेका छन् । त्यसैले, मेडिकलको अनुगमन र औषधी बेचेको रेकर्ड हेर्न सम्बन्धित निकाय चनाखो बन्न आवश्यक छ ।

लागूऔषध नियन्त्रण ऐन २०३३ लगायतका कानुनी व्यवस्था भए पनि नेपालमा लागूऔषधि सेवन र ओसारपसार रोकिएको छैन । अझ हुँदाहुँदा मानव स्वास्थ्यका लागि प्रयोग हुने औषधि नै लागूपदार्थको रुपमा प्रयोग हुनु निकै खतराको संकेत हो ।

तसर्थ, यसप्रकारको अवस्थालाई नियन्त्रण गर्न नियमनकारी सरकारी निकाय लगायत सम्बन्धित निकाय गम्भिर हुनुपर्ने देखिन्छ । अतः जिल्लामा अवैद्य रुपमा विक्री भइरहेको औषधीको नियन्त्रणकालागि सम्बन्धित निकायले आवश्यक कदम चलाउन जरुरी छ ।