नेकपाको कार्यदलभित्रै असन्तुष्टी, सचिवालयलाई प्रतिवेदन बुझाउन सकेन
  • अनलाइनपाना सम्बाददाता
  • मङ्लबार, माघ २२, २०७५
  • काठमाडौँ

सत्तारुढ दल नेकपाको सचिवायले बैठकले सांगठनिक एकताका लागि बनेको कार्यदललाइ आज प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।माओवादी र एमालेबीच एकता भएको ९ महिनासम्म पनि विभिन्न संगठनको एकता हुन नसकेको अवस्थामा सचिवालयले कार्यदललाई दबाब दिएको थियो ।

तर सचिवालयले दिएको निर्देशन अनुसार आज कार्यदलले प्रतिवेदन बुझाउन नसक्ने भएको छ । कार्यदलका एक सदस्य लेखराज भट्टले कार्यदलमा रहेका शीर्ष नेताहरुले आफूहरुलाई औपचारिक रुपमा केही पनि जानकारी नगराएको भन्दै सचिवालयलाई बुझाउनका लागि प्रतिवेदन तयार नभएको जानकारी दिएका हुन् ।

पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको छ ।कार्यदलमा पौडेलसहित रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुबीर महासेठ, बेदुराम भुषाल, वर्षमान पुन र लेखराज भट्ट रहेका छन् ।

यो कार्यदलले काम गर्न नसकेको हो । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टले कसरी जाने भन्ने विषयमा कार्यदलमा विगतमा छलफल भए पनि कुनै पनि विषय टुङ्गो नलागेको बताए ।कार्यदल गठनभएदेखि करिब ६ पटक कार्यदलको बैठक बसे पनि पछिल्लो २० दिनयता कार्यदल निष्क्रिय जस्तै छ ।

सचिवालयले आज प्रतिवेदन बुझाउन निर्देशन दिए पनि आफूहरुले प्रतिवेदन तयार पार्न नसक्ने भट्टले स्पष्ट पारेका छन् । सचिवालयले कार्यदललाई हस्तक्षेप गरे पनि कुनै फरक नपर्ने भट्टको प्रतिक्रिया छ ।

भट्टले कार्यदलका संयोजक विष्णु पौडेलले प्रभावकारी रुपमा काम गर्न नसकेको संकेत गरे । “सल्लाह हुँदैछ । सल्लाह गरेर बैठक बसाल्छौँ भन्या हो । तर बैठक बसाल्नुभएन । खबर पनि गर्नुभएन ।” भट्टले भने ।के कारणले बैठक बोलाइएन भन्ने कुराको आफूलाई कुनै जानकारी नभएको उनले बताए ।