अधिनायकवाद र राष्ट्रघाती निर्णय अघि सारेकोमा केन्द्रीय सदस्य हरिप्रसाद नेपालको आपत्ती
  • रमेश विश्वकर्मा
  • शनिबार, बैशाख २८, २०७६
  • गुल्मी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले नेपाली काँग्रेसको जागरण अभियानले राष्ट्र नै जगाउने बताएका छन् ।

शुक्रबार जिल्लाको कालीगण्डकी गाउँपालिकाको जयखानिमा राष्ट्रिय जागरण अभियानको पालिकास्तरीय दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले काँग्रेसको अभियान सरकारको गलत क्रियाकलापको खबरदारी र पार्टी बलियो बनाई राष्ट्र जगाउने रहेको धारणा व्यक्त गरे ।

नेता नेपालले वर्तमान बहुमतप्राप्त सरकारले सर्वोच्च सरकारलाई आफ्नै निजि बनाएको र संसद्मा बोल्दा पनि आफु केटाकेटी बराबर बोल्ने र हामीलाई बोल्न नदिएको आरोप लगाए ।

उनले वर्तमान सरकारले अधिनायकवाद र राष्ट्रघाती निर्णय अघि सारेकोमा आपत्ती जनाए । त्यस्तै नेता नेपालले नेपाली कांग्रेसको सरकार हुँदा भए गरेका काम तथा निर्णय वर्तमान कम्युनिष्ट सरकारले हामीले गरेका हौ भन्दै झ्याली पिट्दै हिडेको धारणा व्यक्त गरे ।

उनले वर्तमान सरकारले भ्रष्टाचारी, बलात्कारी र अपराधीलाई संरक्षण गरेको आरोप लगाए । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले कम्युनिष्ट सरकार अधिनायकवाद र लाजमर्दो स्थितिमा पुगेकाले जागरण अभियान महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा काँग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।