राष्ट्रपतिको निन्द्रा बिग्रिएकाे भन्दै कांग्रेस नेतृ खनालले लगाइन् यस्तो आरोप
तालिम केन्द्र हटाइने निर्णय भएकोमा बिराेध
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौँ

नेपाली कांग्रेसकी महासमिति सदस्य रिता खनालले राष्ट्रपति विद्यादेवी भण्डारीको निन्द्रा बिग्रिएकाले तालिम केन्द्र हटाइने निर्णय गरिएको आरोप लगाएकी छिन् । उनले राष्ट्रपतिलाई सम्मान गरिनुपर्ने भएपनि उनको स्वभाव जनतामुखी नभएकाले दिनैपिच्छे आलोचनाको शिकार हुनुपरेको तर्क गरेकी छिन् ।

चर्चित कांग्रेस नेतृ खनालले राष्ट्रपतिले आफ्नो पुरानो हैसियत बिर्सिएको र अहिले महत्वाकांक्षा पालेर बद्नाम भएको टिप्पणी गरेकी छिन् । ‘ प्रहरीले तालिम गर्दा, तोप पड्काउँदा उनको निन्द्रामा ‘डिस्टर्व’ भयो अरे त्यही भएर तालिम केन्द्र सार्न दबाब दिइन् ’ खनालले भनिन् ‘ जुगौंदेखि रहेको तालिम केन्द्र सार्नुपर्ने अरु कुनै कारण थिएन, उनले जे गर्न खोजेकी छिन् त्यो अव्यवहारिक छ ।’

खनालले राष्ट्रपतिले राज्य कोषको दुरुपयोग गरेको र अनावश्यक ईच्छा गरेर घमण्ड देखाएको पनि आरोप लगाएकी छिन् । ‘हिजोका दिनमा नेपालको पहिलो राष्ट्रपति डा. रामबरण यादबचाँही त्यहीँ बस्न मिल्ने आज उनले मलाई ‘डिस्टर्व’ भयो भन्न सुहाउँदैन ’ रिताले भनिन् ‘ देशले धान्नेसम्म सुविधा दिनु त ठीकै हो तर पदको दुरुपयोग गरेर अहमता देखाउनु राम्रो होइन ।’ उनले राष्ट्रपतिलाई पनि सामान्य जिवन बाँच्न सल्लाह दिएकी छिन् ।

खनालले राष्ट्रपतिले १८ करोडको गाडी मागेको र त्योभन्दा महंगो हेलिकोप्टर चढ्ने रहर गरेकोमा टिप्पणी गरिन् । ‘ हिजो फाटेको लुगा र थोत्रा चप्पल लाउँदा हुन्थ्यो , त्यो अवस्था देखिएकै हो , आज किन अहमता देखाउनुपरो ?’ खनालले प्रश्न गरिन् ‘ आफ्ना पतिको हत्या भएको २५ वर्ष बितिसक्दा पनि किन खोजी गरिँदैन , यसको जवाफ कसले दिने ।’ खनालले सरकार जनविरोधी भएको समेत बताइन् । सरकार बनेको १५ महिना बितिसक्दा पनि जनताको जिवनमा परिवर्तनको अनुभुति नभएको उनको बुझाई छ ।

यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा मधेशवादी पार्टीले उठाँदै आएको संविधान संशोधनको माग पूरा गर्न सरकार सहमत भएको तर तत्कालीन नेकपा एमालेले नमानेको भन्दै उनले थपिन् ‘ हिजो संविधान संशोधन गर्दा देश नै डुब्छ भन्ने एमालेले आज फेरि उही मधेशवादी दललाई संविधान संशोधन गर्छु भनेर फकाएको छ तर त्यो अल्मल्याउने खेलमात्र हो ।’

उनले एमाले र माओवादी जनताको पक्षमा कहिल्यै पनि नलाग्ने आरोप पनि लगाइन् । कांग्रेस एकमात्र विकल्प भएको र उसैले जनताको पक्षमा काम गर्ने भन्ने खनाल पार्टीले चलाएको जागरण अभियानले पार्टीभित्र देखिएको आन्तरिक द्धन्द्धलाई व्यवस्थापन गर्नुपर्ने बताउँछिन् ।