कार्यकर्तामा अराजक प्रवृत्ति हावी भएको छ : कांग्रेस केन्द्रिय सदस्य राठौर
  • अनलाइनपाना संवाददाता
  • आइतवार, जेष्ठ ५, २०७६
  • काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले नेपाली कांग्रेसका कार्यकर्तामा अराजक प्रवृत्ति हावी भएको वताएका छन । नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान अन्तरगत बर्दियाको राजापुरमा आयोजित कार्यक्रममा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य राठौरले पार्टी भित्र कसैले कसैलाई नमान्ने, एकले अर्काको अस्तित्व नस्विकार्ने पद्धतिको विकास भएका कारण पार्टीको संगठन जनस्तरमा कमजोर भएको बताए ।

उनले आफ्नो आचरण र संस्कार लाई परिवर्तन गर्दै अनुशासीत हुन कांग्रेसी नेता तथा कार्यकर्ता लाई आग्रह गरे । कांग्रेसले सञ्चालन गरेको जागरण अभियान नेता तथा कार्यकर्ताले आफ्नो आचरण र संस्कार लाई परिवर्तन गर्ने अभियान भएको बताउँदै केन्द्रिय सदस्य राठौरले भने, ‘हामी सबैले आफूलाई परिमार्जित र परिस्कृत गर्नसकेमा हामीले चाहेको बाटोमा पार्टी अगाडी बढ्ने छ ।’

जागरण कार्यक्रम लाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि गेहेन्द्र गिरीले कांग्रेस आफैमा कमजोर नभएको बताउँदै पार्टी भित्रको गुटबन्दीले कांग्रेसलाई कजोर बनाएको बताए । लोकतान्त्रिक पद्धतीलाई आत्मसाथ गर्न नसक्दा पार्टी भित्र घात अन्तरघात बढेको र गुटबन्दीले पार्टीको संगठन नै ध्वस्त हुँदै गएको बताउँदै उनले भने, ‘ लोकतन्त्रवादीहरुले लोकतान्त्रिक पद्धतीलाई आत्मसाथ गर्न सक्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रसका नेता एवम पूर्व मन्त्री गोपाल दहितले कुनै टीम र गुटको पछी नलागी कांग्रेसको पछी लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले कांग्रेसको भातृ संगठनहरुलाई सक्रिय बनाउनसके संगठन मजवुत मात्र नभई कांगे्रसका हरेक अभियानले सार्थकता पाउने बताए ।

नेपाल महिला संघकी प्रतिनिधि कमला भट्टले केही पाउन केही गुमाउनु पर्ने बताउँदै पार्टी बाट केही आशा राख्ने हो भने हामीले पनि पार्टीको लागि लगानी गर्नुपर्ने बताईन । कार्यक्रम नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिपक जंग शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।