हेर्नुहोस् चर्चित २२ नेताका श्रीमतीहरु के-के गर्दारहेछन् ?
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, जेष्ठ १०, २०७६
  • काठमाडौँ

नेपाली राजनीतिको केन्द्रस्तरमा नै प्रतिस्पर्धा गरिरहेका विभिन्न नेताहरुको जीवनशैलीबारे आम मानिसलाई चासो रहन्छ नै । अझ उनीहरुको पारिवारिक स्थिती र गतिविधिबारे राजनीतिक विषयमा चासो राख्ने जो कोहीले बुझ्न उत्सुक हुन्छ । नेपाली राजनीतिको शीर्ष मैदानमै प्रतिस्पर्धा गर्ने कतिपय नेता संभ्रान्त बर्गका छन् भने कोहि निम्नबर्गबाट उक्लिएकाहरु छन् ।

राजनीति गर्न पर्याप्त सम्पती अपरिहार्य हुदै गइरहेको नेपाली राजनीतिमा सफल हुन यतिले मात्र पुग्दैन । पारिवारीक साथ,सहयोगको पनि भूमिका महत्वपूर्ण हुन्छ । कतिपय नेताको श्रीमतीसहित परिवारका अन्य सदस्यहरु नै राजनीतिमा सक्रिय भएपनि प्रायजसो नेताका श्रीमती गुमनाम छन् । नेपाली राजनीतिका शीर्ष केहि नेताका श्रीमती के गर्छन् त ?

केपी शर्मा ओली

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य बैंककी पूर्वकर्मचारी हुन् । उनी नेपाल राष्ट्र बैंककी अवकाशप्राप्त कर्मचारी हुन् । त्यसपछि भने उनी गृहिणीकै रुपमा रहेकी छिन् ।

पुष्पकमल दाहाल प्रचण्ड

नेकपाका अध्यक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सिता गृहिणी हुन् । उनी पार्टीको केन्द्रिय सल्लाहकार समेत रहेकी थिइन् । प्रचण्डका कतिपय राजनीतिक गतिविधीमा सीताले सल्लाह सुझाव दिने गरेकी छिन् । यद्यपी उनको राजनीतिमा प्रभाव भने कम देखिन्छ ।

शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा राजनीतिमा सक्रिय छिन् । उनी पूर्व सांसद हुन् भने सामाजिक काममा समेत संलग्न छिन् । उनले भारतको पञ्जाव विश्वविद्यालयबाट साइकोलोजीमा पिएचडी गरेकी छिन् ।

रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलकी श्रीमती सविता गृहिणी हुन् । उनी साधारण लेखपढ गर्न सक्छिन् । उनको दैनिकी पारिवारीक काम र घर व्यवहारमा नै बित्ने गरेको छ ।

प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सृजना सिंह गृहिणी हुन् । नेपाली कांग्रेसको राजनीतिमा उनि त्यतिधेरै सक्रिय भएर लागेकी छैनन् । पार्टीमा उनको जिम्मेवारी खास उल्लेखनीय छैन । विवाहअघि भने सृजना सक्रिय राजनीतीमै थिइन् ।

डा. मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालकी पत्नी दुर्गाको शैक्षिक क्षेत्रमा लगानी छ । उनले बानेश्वरस्थित एपेक्स कलेज सञ्चालन गरेकी छिन् । त्यो बाहेक उनको दैनिकी पारिवारीक काममा नै बित्ने गरेको छ ।

नरहरी आचार्य

नेपाली कांग्रेसका नेता नरहरी आचार्यकी पत्नी शारदा साहित्यकार हुन् । उनको दैनिकी लेखनको साथै घरायसी काम र सामाजिक कार्यमा बित्ने गरेको छ ।

अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीकी पत्नी प्रतिमा गृहिणी हुन् । पारिवारीक माहौल राजनीतीमय भएपनि उनी सक्रिय राजनीतिमा छैनन् । विवाह गर्दाको सेरोफेरोमा उनले अध्यापन पेशा पनि अंगालेकी हुन् । तर पछि भने उनी गृहिणीकै रुपमा छिन् ।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार प्राध्यापक हुन् । उनले अमृत साइन्स क्याम्पस लैनचौरमा विज्ञान विषय पढाउछिन् । उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् ।

माधवकुमार नेपाल

नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री बैंकको पूर्वकर्मचारी हुन् । उनले राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरिन् । बैंकको जागिरबाट अवकासप्राप्त उनी पछिल्लो समय घरव्यवहारमा नै सिमित छिन् ।

इश्वर पोखरेल

नेकपाका नेता तथा सरकारका उप-प्रधानमन्त्री इश्वर पोखरेलकी पत्नी मीरा ध्वजूले पनि लामो समय विद्यालयमा अध्यापन गराईन् । ०७० को निर्वाचनपछि भने उनी संविधानसभा सदस्य हुदै अहिले सांसद छिन् । सक्रिय राजनीतिमा रहेपनि उनी त्यतिधेरै चर्चामा रहिन्नन् ।

बिष्णु पौडेल

नेकपाका महासचिव बिष्णु पौडेलकी श्रीमती सपना गृहिणी हुन् । उनी साक्षर एवं राजनीतिप्रति चासो राख्ने भएपनि सक्रिय राजनीतिमा भने छैनन् ।

डा. बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमी सक्रिय राजनीतिमा छिन् । अध्ययनको हिसावमा उनी मेकानिकल इन्जिनियर पनि हुन् । पूर्वमन्त्री समेत रहेकी यमी समाजबादी पार्टीकी प्रभावशाली नेतृ समेत हुन् ।

कृष्णबहादुर महरा

नेकपाका नेता तथा संघीय संसदका सभामुख कृष्णबहादुर महराकी पत्नी सीता गृहिणी हुन् ।उनी सामान्य लेखपढ गर्नसक्ने छिन् भने सक्रिय राजनीतिमा छैनन् ।

बर्षमान पुन

नेकपाका नेता तथा उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुनकी श्रीमती ओनसरी घर्ती पूर्व सभामुख हुन् । माओवादी सशष्त्र द्धन्द्धका क्रममा हतियार बोकेरै परिवर्तनमा होमिएकी घर्ती नेपालकै संसदीय इतिहासमा पहिलो महिला सभामुख हुन् । सभामुख हुनुअघि उनी पहिलो संविधानसभामा उपसभामुख थिइन् ।

 

अग्नी सापकोटा

नेकपाका नेता अग्नी सापकोटाकी पत्नी तारा गृहिणी हुन् । सामान्य लेखपढ गर्न सक्ने भएपनि उनी सक्रिय राजनीतिमा छैनन् ।

मोहन वैद्य

नेकपा माओवादी क्रान्तिकारी माओेबादीका अध्यक्ष मोहन वैद्यकी श्रीमती सुस्मा वैद्यले गतबर्ष मात्रै एसएलसी पास गरेकी हुन् । उनी सक्रिय राजनीतिमा छैनन् । उनको दिनचर्या घरगृहस्थीमै बित्ने गर्छ ।

रामबहादुर थापा बादल

नेकपाका नेता रामबहादुर थापा बादलकी पत्नी नयनकलाले यसअघि शिक्षिका थिइन् । उनी राष्ट्रिय महिला आयोगकी अध्यक्ष समेत भईसकेकी हुन् । पछिल्लो समय भने उनको अधिकांश समय घरव्यवहारमै वित्ने गरको छ ।

बिजयकुमार गच्छदार

नेपाली कांग्रेस उपसभापति बिजयकुमार गच्छदारकी श्रीमती निर्मला गृहिणी नै हुन् । उनी पढेलेखेकी र राजनीतिप्रति चासो राख्ने भएपनि सक्रियताका साथ राजनीतिमा आइसकेकी छैनन् ।

डा. रामशरण महत

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतकी पत्नी रोशना कलेजकी अध्यापक हुन् । उनले रत्नराज्यलक्ष्मी क्याम्पसमा भूगोल विषय पढाउछिन् । त्यो बाहेक उनको दैनिकी घरायसी काममा बित्ने गरेको छ ।

कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाकी पत्नी कविता राजनीतिशाष्त्रकी शिक्षिका हुन् । रत्नराज्यलक्ष्मी क्याम्पसमा राजनीतिशाष्त्र अध्यापन गराउछिन् । उनी सहप्राध्यापक हुन् । ०४१ सालदेखि मेची क्याम्पसमा उपप्राध्यापकको रुपमा रहेकी कविता ०५६ सालपछि भने काठमाडौं आएकी हुन् । त्यसबेला डेढबर्ष त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा अध्यापन गराएकी कविता त्यसपछि भने आरआर क्याम्पसमा अध्यापन गराईरहेकी छिन् ।

नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी श्रीमती शोभा प्रधान शिक्षिका हुन् । उनी भक्तपुरकै बागेश्वरी उच्च माध्यामिक विद्यालयमा अध्यापन गराउछिन् । उनी नेमकिपाको महिला संगठन नेपाल क्रान्तीकारी महिला संघमा आवद्ध छिन् । त्यो बाहेकको समयमा उनी घरासयी काममा नै व्यस्त हुने गरेकी छिन् ।

बामदेव गौतम

नेकपाका नेता बामदेव गौतमकी श्रीमती तुलसा थापामगर पूर्वएमालेको भातृसंगठन अखिल नेपाल महिला संघको केन्द्रिय सचिवालय सदस्य हुन् । पति बामदेव गौतमका हरेक राजनीतिक क्रियाकलापमा उनको साथ सहयोग र सल्लाह सुझाव रहने गरेको छ । उनी सामाजिक सेवामा समेत रहेकी छिन् । उनले महिला अधिकारको क्षेत्रमा सामाजिक काम समेत गर्दै आइरहेकी छिन् ।

शंकर पोखरेल

नेकपाका नेता तथा प्रदेस नम्बर ५ का मुख्यमन्त्री रहेका शंकर पोखरेलकी पत्नी सुजिता शाक्य पूर्व नेकपा एमाले केन्द्रिय सदस्य एवं अखिल नेपाल महिला संघको केन्द्रिय सचिव थिइन् । उनी सक्रिय राजनीतिका साथै सामाजिक काममा समेत व्यस्त हुन्छिन् । कुनैबेला नर्सिङको विद्यार्थी सुजिताले पछि भने समाजशाष्त्रमा मास्टर्स गरेकी छिन् । उनी एमालेको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख समेत हुन् ।

राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोकी पत्नी शैल कुमारी देवी हुन् । उनी पूर्व सांसद पनि हुन् । ०४८ सालदेखि पार्टी निकट भातृसंगठन महिला मञ्चमा क्रियासिल छिन् । औपचारिक शिक्षा एलएलसी पास मात्र भएपनि उनी राजनीतिका हरेक आन्दोलन र मोडमा पति एवं पार्टी अध्यक्ष महतोलाई सहयोग र सल्लाह दिनेमा पर्छिन् । अहिले उनी महिला मञ्चको केन्द्रिय उपाध्यक्ष समेत हुन् । उनी नेपाल–भारत मैत्री समाजमा पनि आवद्ध छिन् ।

चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकी पत्नी पार्वतीले औपचारिक शिक्षा हासिल गरेकी छैनन् । एक हिसावले भन्दा उनी निरक्षर हुन्, तर जनमोर्चा अध्यक्ष केसीको राजनीतिक जीवन यो उचाईमा पुगिरहनुमा पार्वतीमा महत्वपूर्ण साथ,सहयोग र सरसल्लाह हुदै आएको पाइन्छ । विशेषत उनी घरायसी काममा नै व्यस्त हुन्छिन् । घरमा आउने पाहुना,आफन्त र पार्टीका शुभचिन्तकलाई स्वागत सत्कार गर्ने काममा उनको दैनिकी बित्ने गरेको छ ।

लालबाबु पण्डित

नेकपाका नेता लालबाबु पण्डितकी श्रीमती बिमला महत पण्डितको दैनिकी घरायसी काममा नै बित्ने गरेको छ । ०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी ललितपुरस्थित तत्कालिन सैंबु गाविसको वडा नम्बर ४ मा वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । अहिले भने उनी मोरङ समाजको उपाध्यक्ष छिन् भने नेता पण्डितको राजनीतिक निर्णय र गतिविधीमा उनको साथ सहयोग र सल्लाह रहदै आएको छ । औपचारिक शिक्षा एसएलसी पासमात्र भएपनि उनको परिपक्वता एक सक्रिय राजनीतिकर्मी भन्दा कम देखिन्न ।