सरकारको नेतृत्व आलोपालो नै हुन्छ: अध्यक्ष दाहाल
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व आलोपालो नै हुने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सरकार आलोपालो चलाउने सहमतिलाई नयाँ कुरा नभएकाले पहिले भएका समझादारीका साथ अगाडी बढिने उनले बताए ।

सरकारले पछिल्लो समयमा ल्याएका विधेयकमा आवश्यक परिमार्जन गरिने दाहालले बताए । सरकारले ल्याएका विधेयकहरुमा तयारी राम्रो नपुगेकाले विरोध र गुनासाहरु आएको उनले बताए ।

विधेयकहरुका कारण भएका विरोधले सतर्क बनाएको बताए । ‘तयारी राम्रो नपुगेको हो, जति गृहकार्य भएर आउनुपथ्र्यो त्यो नपुगेकै हो’ उनले भने, ‘सरकार र पार्टी सतर्क भएको छ, प्रर्याप्त छलफल गरेर, सहमति बनाएर ल्याउने तिर सरकार जान्छ।’

मिडिया काउन्सिल विधेयकमा आवश्यक परिमार्जन गरेर अगाडी बढिने उनको भनाई छ । यस्तै, गुठी विधेयकको बारेमा पनि बहस र छलफल चलिराखेको र परिमार्जन गरिने उनी बताउँछन् ।

लोक सेवा आयोगले ल्याएको कर्मचारी भर्ना प्रक्रियाको विज्ञापन विवादका विषयमामा संसदिय समितिले र सरकारले काम गरिराखेको उनले बताए। यस विषयमा प्रधानमन्त्री विदेश भ्रमणबाट फर्केपछि छलफल गरेर उचित ढंगले अघि बढिने उनको भनाइ छ।