प्रचण्ड पनि कांग्रेसको लाईनमा
  • अनलाइनपाना संवाददाता
  • बुधबार, असार ४, २०७६
  • काठमाडौँ

आलोपालो सरकारका बारेमा बेलाबेलमा बोलीरहने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक कांग्रेसको लाईनमा आएका छन् । प्रतिपक्षी दल काग्रेसले लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्छ भन्दै आवाज उठाईरहेका बेला प्रचण्डले पनि विज्ञापन रद्द हुनुपर्ने अडान राखेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले खुमलटारस्थित आफ्नै निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझ्दै लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै रद्द गर्नुपर्ने बताएका छन् ।

प्रचण्डले भने, ‘हाम्रो बुझाइ चाहिँ ऐनअनुसार पनि भएन भन्ने हो । ऐन अनुसार किन भएन त ? ऐनको व्यवस्था अनुसार यसखालको विज्ञापन गर्दा स्थानीय तहले माग गरेअनुसार गर्ने हो, माथिबाट विज्ञापन गर्ने होइन ।

अथवा माथि सरकारले, मन्त्रालयले तिमीहरुले यो–यो माग भनेर निर्देशन जारी गरेर माग्ने होइन । यो निर्णयमा कसैको पनि नोट अफ डिसेन्ट छैन । त्यसैले, लोकसेवाले निकालेको यो विज्ञापन संविधानको मर्म र भावना अनुकुल पनि भएन ।’

प्रचण्डले लोकसेवा आयोग समितिको निर्देशन मान्न तयार नभएको बताएका छन् । उनले लालबाबु पण्डितसँग छलफल गर्ने बताएका छन् । उनले भने, ‘फेरि पनि लोकसेवा आयोग र सरकार, मन्त्रालय यो कुरा मान्न तयार भएको स्थिति छैन ।

उनीहरु अहिले पनि यो जसरी पनि गरी छाड्ने भन्नेमा दृढ छन् । मन्त्री लालबाबु पण्डितजीसँग पार्लियामेन्टमा मेरो भेट भएको थियो । मैले उहाँलाई यहाँ खुमलटारमा बोलाएको छु । मन्त्री लालबाबुसँग म यो विषयमा कुरा गर्दैछु । त्यसपछि बुधबार नै प्रधानमन्त्रीज्यूसँग अलग्गै मिटिङ छ, यो विषयमा पनि कुरा हुँदैछ । हामी फेरि सचिवालय बसेर पनि यो विषयमा कुरा गर्दैछौं ।

आरक्षण पक्षधरहरुसँग मेरो कुरा के हो भने तपाईहरुले दह्रोसँग उभिएर आफ्ना कुराहरु राख्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने मात्रै मलाई चिन्ता छ । तपाईहरुले सक्नुहोस् भन्ने छ मेरो धारणा छ । म यसबारेमा पार्टीमा पनि र सरकारमा पनि कुरा राख्छु ।’