ज्ञानेन्द्रपथमा लागेको ओली सरकार समाप्त भएरै छाड्छ : बालकृष्ण खाँण
  • अनलाइनपाना संवाददाता
  • शनिबार, साउन ४, २०७६
  • बुटवल

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री खड्गप्रसाद ओली ज्ञानेन्द्रपथमा लागेका आरोप लगाएका छन् ।

बुटवलमा शनिबार आयोजित कार्यक्रममा नेता खाँणले ओलीका गतिविधि र क्रियाकलापहरू पूर्वराजा ज्ञानेन्द्र शाहकै पथमा रहेको बताए । उनले अधिकांश समय दुईतिहाइको कम्युनिस्ट सरकारको आलोचनामा खर्चिएका थिन् ।

‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफैं राजा हुँदा पनि नपुगेर प्रधानमन्त्री पनि बन्न मन लाग्यो र सकिए’, उनले भने, ‘अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पनि शक्तिको भोक लागेको छ । उनी पनि ज्ञानेन्द्रकै पथमा छन् ।’

प्रधानमन्त्रीले अधिकारहरू आफूमा केन्द्रिकृत गर्दा ओलीतन्त्र पनि समाप्त हुने खाँणको चेतावनी छ । ‘ओलीतन्त्र समाप्त हुन्छ, ज्ञानेन्द्रकै पथमा अनुयायी बन्दा ओलीको ज्ञानेन्द्रकै हालत हुन्छ’, उनले अघि भनेका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकार साम्यवादी दिशामा अघि बढेको भन्दै उनले प्रधानमन्त्री ओली जवाफदेही, जिम्मेवार र पारदर्शी हुन नसकेको बताए ।

नेपाली कांग्रेसका नेता खाँणले वर्तमान ओली सरकारलाई हिलो खेतमा लगाएको आलुको संज्ञा दिए । ‘हिलो खेलमा जनताले आलु लगाइदिए’, उनले भने, ‘अब फल्छ की सड्छ ? धान लगाउनुपर्नेमा आलु लगाएपछि के आशा गर्नु ।’

कम्युनिस्ट सरकारविरुद्ध लहानमा भव्य प्रदर्शन

कम्युनिस्ट सरकारले समावेशी समानुपातिक आधारमा ४५ प्रतिशत आरक्षण व्यवस्थाको उल्लंघन गरेको भन्दै सिरहाको लहानमा प्रदर्शन भएको छ ।लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरी परीक्षा लिएको विरोधमा शनिबार लहानमा प्रदर्शन भएको हो ।

आरक्षण बचाउ आन्दोलन संयोजन समिति सिरहाको आयोजनामा लहानको शहीद चोकमा गरिएको प्रदर्शनमा प्रहरीसँग करीब एक घण्टा घम्साघम्सी भएको छ ।संयोजन समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा भएको प्रदर्शनमा विभेदकारी विज्ञापन खारेज गर्न माग गर्दै नाराबाजी भएको थियो ।

प्रदर्शनकारीहरूले ब्यानरसहित बजार परिक्रमा गर्ने गर्न खोजे पनि उनीहरूलाई घेरा हालेर बसेको प्रहरीले शहीद चोकबाट अगाडि बढ्न दिएन । त्यस क्रममा सामान्य घम्साघम्सी भएको थियो ।

महोत्तरीको जलेश्वरस्थित आयोगको प्रदेश कार्यालयअन्तर्गत स्थानीय तह चौथो र पाँचौँ तहका लागि शनिबार बिहान ८ र १२ बजे लहानका विभिन्न ५७ वटा केन्द्रमा परीक्षा संचालन भइरहेका बेला प्रदर्शन गरिएको छ ।

संयोजक यादवले संविधान विपरित आयोगले विभिन्न पदका लागि प्रकाशित गरेको विज्ञापनको प्रदर्शन गरिएको बताए ।

आयोगको विज्ञापन विभेदकारी हुनुका साथै असंवैधानिक र मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, पिछडा वर्ग, महिला तथा अपाङ्गता विरोधी भएकाले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको उनले बताए । उनले भने, ‘आयोगको गैरसंवैधानिक विज्ञापन खारेज नभएसम्म विरोध गरिरहन्छौँ ।’

परीक्षा बिथोल्न नदिन लहानको शहीद चोक, रघुनाथपुर, नयाँ बजार, ग्रामीण चोक, पुरानो बजार लगायतका ठाउँहरुमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।