चन्द्र भण्डारीकाे घोषणाले देशभरि तरंग
  • अनलाइनपाना संवाददाता
  • सोमवार, भदौ १६, २०७६
  • काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन दुई वर्ष बाँकी रहदा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला समूहबाट थापाले महामन्त्री दिने घोषणा गरेसँग सोही समूहका अर्का नेता चन्द्र भण्डारीले पनि उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीपनि सिटौला समूहकै हुन् ।

थापाको सिको गर्दै भण्डारीले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गरेर सबैलाई चकित तुल्याइदिएका छन् । ‘सामान्य प्रयासमा कांग्रेसको पुनः आगमन सम्भव छैन । नेतृत्व कर्मकाण्डी छ’, थापाले भनेका छन्, ‘विगतमा जे गरिरहेको थियो, त्यही नै गर्ने प्रवृत्ति छ । टालटुल मात्र गर्न खोज्ने सोँचले समस्या झनै थापिन्छ ।’

थापाले भनेका छन्, ‘नेपाली कांग्रेसभित्र एउटा यस्तो महाअभियान चाहिएको छ, जसले सिद्धान्तको पुनर्निर्माण गर्नेछ ।’ ‘पार्टी संगठनको पुनर्गठन गर्नुपर्नेछ । पार्टी आचरणमा शुद्धता खोज्नुपर्नेछ’, थापाले भनेका छन्, ‘यो सब गर्नका लागि भन्दा तितो होला तर, बासी नेतृत्वबाट सम्भव छैन ।’

‘कांग्रेसको यही नेतृत्वबाट जनतासँग टुटेको सम्बन्ध जोड्न असम्भव छ’, उनले भनेका छन्, ‘त्यसैले आगामी महाधिवेशनबाट बासी नेतृत्वलाई बाइबाइ गर्नैपर्छ ।’

‘विश्वप्रकाश शर्मा मात्र होइन, अरु युवा साथी पनि नेतृत्वमा आउनुपर्छ’, थापाले भनेका छन्, ‘जसले पार्टी र सरकार वा कतै पनि भूमिका पाउन सकेका छैनन, तिनलाई नेतृत्वमा ल्याउनुपर्छ ।’थापालाई तपाई महामन्त्रीको उम्मेदवार हो भनेर सोधिएको प्रश्नको जवाफमा भनेका छन्, ‘हो, म महामन्त्रीको दाबेदार हुँ । उस्तै परिस्थिति निर्माण भयो भने म सभापतिको उम्मेदवार पनि हुन सक्छु ।’

केन्द्रीय सदस्य भण्डारीले १४औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । केन्द्रीय कार्यालय सानेपामा आइतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै भण्डारीले उपसभापतिको उम्मेदवर बन्ने घोषणा गरेका हुन् । उनले अहिलेको नेतृत्वबाट देशमा देखिएका समस्या समाधान हुन नसक्ने बताएका छन् । ‘नयाँ हिरोहरूपनि नयाँ स्क्रिप्टसहित आउनुपर्छ’, उनले भने, ‘पुराना हिरोहरूबाट अहिलेको समस्या हल हुन सकदैन ।’

सरकारको निराशाले गर्दा रविमाथि भरोसा, उनी छुटुन् सबैको सदीक्षा

दुई पटकको संविधानसभाबाट निर्माण गरिएको संविधान कार्यान्वयन भएको भरखर तीन वर्ष हुँदैछ । जनता आफैले बनाएको संविधान आएपछि देशमा अमनचयन, कानूनी शासन, भ्रष्टाचारको अन्त्य, विकास, रोजगारी, समानता हुन्छ भन्ने धेरैको बुझाइ थियो ।

अहिले पनि त्यो बुझाइमा तुषारापात भएको छैन । हुनु पनि हुँदैन । आफैले बनाएको संविधान कार्यान्वयन किन यति फितलो भएको हो भनेर प्रश्न भने उठेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रले स्थानीय तह, प्रदेश र संघीय संसदमा दुईतिहाइको बहुमत पाएका छन् । प्रदेश २ बाहेक सबै प्रदेशमा दुईतिहाइसहित नेकपाको सरकार छ ।संघीय सरकार पनि नेकपाको दुईतिहाइको सरकार छ । स्थानीय तहमा पनि नेकपा बलियो र बहुमतमा छ । यति हुँदा पनि नेकपाले गतिलोसँग काम गर्न सकेको छैन ।

बजेट ल्याउन कुरामा होस् या देशमा विकास निर्माणदेखि जनतालाई राहत दिने विषयमा सरकारले जनचाहनाअनुसारको काम गर्न सकेको छैन । नेकपाको दुईतिहाइको बलियो सरकारमाथि जनतामा निरासा छाएको छ ।

वितृष्णा बढ्दै गएको छ । आफैले मतदान गरेको नेकपामाथि मतदाताहरू निकै चिन्तित छन् । सरकारले निर्वाचनमा गरेका अपेक्षाहरू पूरा नगरेकोमा चिन्ता बढाएको छ ।

देशमा भ्रष्टाचार बढेको छ । महँगी बढेको छ । रोजगारी छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा कार्यकर्ता पोस्ने कार्यमात्रै भएको छ । बजेटलाई दुरुपयोग गरिएको छ । सजिलै रुपमा सर्वसाधारणको काम हुँदैनन् । गुनासो गर्ने ठाउँ छैन । गुनासो भइहाल्यो भने पनि कार्यान्वयन हुँदैन ।

यही मौकामा सञ्चारकर्मी रवि लामिछाने उदाए । उनले मुलुकका केही बेथितीलाई टेलिभिजनबाट देखाए । जनताको आक्रोशलाई उनले समाचार बनाइदिए । त्यसपछि उनको चर्चा भयो ।

लामिछानेले केही कुरा राम्रो गरेका छन् । केही कुराहरू नाराम्रा पनि गरेका छन् । उनको केही गल्ती हुँदा हुँदै पनि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले नै लामिछानेलाई मलजल गरेर हिरो बनाइदियो । अहिले त्यसकै परिणाम चितवनमा भोग्नु परेको छ ।

लामिछाने पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका छन् । उनलाई अनुसन्धान गर्नै हुँदैन भन्ने अतिवाद हाबी भएको छ । लामिछाने भगवान होइनन् । उनी न्यायाधीश पनि होइनन् । फेरि लामिछानेले अनुसन्धानमा सहयोग गर्छु पनि भनेका छन् । उनीप्रति धेरै शुभेच्छुकहरूको सद्भाव र माया छ ।

आ.रोप लाग्दा प्रहरी प्रशासनले पक्राउ गर्छ । पुष्टि भएन भने छाडिदिन्छ । अदालत छ । अदालतले न्याय दिन्छ । यी कुरालाई पनि मान्दैन भन्नु विधि र शासनको खिलाप जानु हो ।यो कार्यलाई कुनै पनि हालतमा बढावा दिनु हुँदैन । बरु शालिकराम पुडासैनी प्रकरणलाई निस्पक्ष र स्वतन्त्र ढंगबाट छिटो अनुसन्धान गर भनेर दवाव दिएको भए धेरै उचित हुने थियो ।

अर्काको गलत कुरामाथि औँला उठाउने लामिछानेले आफ्नो बिगतलाई पनि ध्यान दिनुपर्छ । हो सुध्रिने मौका पाउनुपर्छ । तर, आफूलाई सुधार गराउन नसक्नु भनेको अतिवाद नै हो ।

त्यही भएर लामिछानेलाई कुनै पनि अभियोग प्रमाणित नहोस् । उनी छुटुन् सबैको सदीक्षा छ । तर, उनले पनि राज्यलाई अनुसन्धानमा सहयोग गर्नुपर्छ । आफूलाई सुधार गर्नै पर्छ । रवि मात्रै होइन पक्राउ परेका सबै निर्दोष भएर छुट्नु पर्छ । न्यायालयलाई विश्वास गर्नुपर्छ । अरूले फसाए पनि न्यायालयले सत्यलाई साथ दिनेछ ।