विप्लवपुत्र प्रकाशसहित १८ प्रदर्शनकारी चितवन प्रहरीकाे नियन्त्रणमा
आवश्यक साेधपुछ भइरहेकाे छ: प्रहरी
  • अनलाइनपाना संवाददाता
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १८ जनालाई पक्राउ गरिएको छ ।
प्रकाश चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिग्राम शर्माले पुष्टि गरे ।

महासंघको पूर्वघोषित कार्यक्रमअनुसार बुधबार मेडिकल कलेजपरिसरमा मेडिकल शिक्षामा भइरहेकाे दलालीकरणकाे  विरोधमा महासचिव चन्दकाे नेतृत्वमा प्रदर्शन गरिरहेको अवस्थामा उनीहरुलाई बुधकारा बिहान ९:३० बजे गिरफ्तार गरिएको हो ।

चिकित्सा शिक्षामा भइरहेको चरम दलाली, विकृति र माफियाकरणको अन्त्यको माग गर्दै आज मेडिकल कलेजहरुमा विरोधमा प्रदर्शन कार्यक्रम तय गरिएको थियो । सोहीअनुरुप दर्जनौं चिकित्सक तथा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुले चितवन मेडिकल कलेजअगाडि माफियाकरण र दलालीकरणको अन्त्य गर्नुपर्ने र चर्को रुपमा बढाइएको चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने माग गर्दै कालो ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सोही अवस्थाबिचबाट मेडिकल कलेजमा नियमित कार्य संचलानमा अवरोध पुरयाएको भन्दै चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले महासचिव चन्दसहितलाई बिहान ९ः३० बजेतिर गिरफ्तार गरिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक सोधपुछ भइरहेको कार्यालयको सूचना शाखाले जानकारी दिएको छ ।

यही भदौ ५ गते महासचिव चन्दले काठमाडौं एक पत्रकार सम्मेलन आयोजना गरी २० दिने विरोधका कार्यक्रम घोषणा गरेका थिए । सोहीअनुसार भदौ २५ गते विशाल जनस्वास्थ्यकर्मीहरुको प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो ।

गिरफ्तार महासचिव चन्दलगायत गिरफ्तार सबैको तत्काल बिनासर्त रिहा गर्न महासंघका अध्यक्ष टिका कँडेलले सामाजिक संजालमार्फत माग गरेका छन् ।

फाईल तस्बीर