तराईका खुला सीमा बन्द गरेर सेना राख्न प्रस्ताव
  • अनलाइनपाना संवाददाता
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौँ

सत्तारुढ नेकपाका सांसद पम्फा भुसालले तराई क्षेत्रका खुला सीमा बन्द गरेर सेना राख्नपर्ने प्रस्ताव राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राखेकी छन् ।

तत्कालीन माओवादी केन्द्रबाट ललितपुरबाट सांसद विजयी भुसालले भिभसाको व्यवस्था नभएसम्मका लागि तराई क्षेत्रका खुला सीमा बन्द गरी निगरानीका लागि सेना खटाइनुपर्ने बताइन् ।

नाका संख्या निश्चित गर्नुपर्ने उनको मत छ । अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो होला । आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाएर खुला बोर्डर बन्द गर्नुको विकल्प छैन ।’ केही महिनायता मात्र अन्तर्राष्ट्रिय अपराधीहरुलाई नेपालबाट दर्जनौं संख्यामा पक्राउ गरिएको छ । तिनीहरुमध्ये धेरै चाहिं खुलामा सीमा भएरै नेपाल प्रवेश गरेको पाइएको थियो ।

नेपाल–भारत सीमा क्षेत्रमा सीमा स्तम्भ नागरिक तहबाट नभइ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सार्ने गरेको पाइएको भन्दै नेतृ भुसालले सीमामा नेपाली सेनालाई राख्नुपर्ने प्रस्ताव गरेकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले खुला सीमाकै कारण तराई मात्र नभई भित्री शहरहरुमा समेत अपराध बढेको धारणा राख्दै दुई देशबीच सम्बन्धमा असर नआउने गरी सीमा शील गर्दा राम्रै हुने बताए ।

सीमा स्तम्भ नेपालतर्फ सार्ने समस्या तथा भारतीय सुरक्षाकर्मी तथा अपराधी नेपाल छिरेर ज्यादाति गर्ने र अपराध गरेर भारततर्फ भाग्ने समस्याले सीमा क्षेत्रमा नेपालीहरु वर्षौंदेखि आक्रान्त छन् । पीडित उनीहरुले जनधनको सुरक्षाका लागि सरकारसँग बारम्बार माग गर्दै आइरहेका छन् । तर सुनुवाई हुन सकेको छैन ।