केपी ओली धेरै नै बदनाम भइसके उनको मन्त्रिमण्डलमा सहभागी हुने इच्छा छैन : योगेश भट्टराई
योगेश भट्टराईले गरे प्रधानमन्त्रीको उपेक्षा !
  • अनलाइनपाना संवाददाता
  • शनिबार, फाल्गुन १८, २०७५
  • काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका पछिल्लो समय सेलेब्रिटी बनेका युवा नेता योगेश भट्टराईले आफ्ना निकटवर्तीहरूसँग केपी ओलीको मन्त्रिमण्डलमा आफू सामेल नहुने बताउन थालेका छन् । भट्टराईले निकटस्थहरूसँगको भेटमा ‘केपीले आफूलाई मन्त्रिमण्डलमा सामेल हुन आग्रह गरिरहेको, तर केपी धेरै नै बदनाम भइसकेको हुनाले उनको मन्त्रिमण्डलमा सहभागी हुन इच्छुक नरहेको’ बताएका छन् ।

योगेशनिकटको एक सूत्रले जनाएअनुसार केपीलाई हटाएपछि बन्ने मन्त्रिमण्डलमा मात्र योगेश भट्टराई सहभागी हुनेछन् । ज्ञातव्य छ, गत निर्वाचन (संसदीय) प्रचारका क्रममा ताप्लेजुङ पुगेर केपी ओलीले योगेशलाई मन्त्री बनाइदिने प्रतिबद्धता सार्वजनिक गरेका थिए र योगेश पहिलो चरणमा नै मन्त्री बन्ने आशामा थिए ।

गत वर्ष मन्त्री नबनाइएपछि योगेश केपीप्रति क्रूद्ध बनेका छन् र आन्तरिक बैठकहरूमा समेत योगेश आक्रामक ढङ्गले प्रस्तुत हुँदै आएका थिए । तर, गोविन्द केसीको अनशन प्रकरणमा उनको भूमिका सरकारलाई सघाउने प्रकारको भएपछि केपी र योगेशबीच सम्बन्ध सामान्य बनेको अनुमान गर्न थालिएको थियो । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने आन्तरिक गृहकार्य शुरु गरेपछि योगेशका अभिव्यक्ति र क्रियाकलापले दुईबीचको सम्बन्धमा फेरि तिक्तताको अवस्था पैदा हुने सम्भावना बढाएको छ ।

नेकपाको एक उच्च सूत्रले दिएको जानकारीअनुसार केपी स्वयम्ले योगेशलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए, तर त्यस्तो प्रस्तावलाई उनले सीधै अस्वीकार गरेका छन् ।

भनिन्छ, प्रधानमन्त्री ओली चाँडै नै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा छन् । हालका मन्त्रीहरूमध्ये मातृका यादव, रवीन्द्र अधिकारी, चन्द्रकान्त खनाल र विना मगरलगायतलाई हटाएर सुरेन्द्र पाण्डे र जनार्दन शर्मालगायतलाई मन्त्रिमण्डलमा समावेश गर्ने तयारी भइरहेको छ । प्रदीप ज्ञवाली र युवराज खतिवडालगायतको भने विभाग परिवर्तन गर्ने सोच प्रधानमन्त्रीले बनाएको बताइन्छ ।

मन्त्रिमण्डल कहिले पुनर्गठन गरिने हो सो भने निश्चित भइसकेको छैन । मन्त्रिमण्डलमा राजपालाई सहभागी गराउने प्रयास भइरहेको बुझिएको छ ।