विप्लवलाई लक्षित गरी सरकारले गर्यो थप यस्तो निर्णय, दियो ३५ दिने अल्टिमेटम
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, फाल्गुन ३०, २०७५
  • काठमाडौँ

सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पोर्टी (नेकपा)लाई लाक्षित गर्दै एकपछि अर्को निर्णय गर्दै गएको छ। सरकारले विप्लव समूहका कार्यकर्तालाई टार्गेट गरी सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन निर्णय गरेपछि विहीबार आह्वान गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।

उनका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।

सोही बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ । समूहका सदस्यहरुका साथबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएपछि सरकारको यो निर्णय सार्वजनिक भएको हो । सरकारले विप्लव समूहमाथि एकपछि अर्को निर्णय गर्दै निगरानी बढाएपछि कार्यकर्ताहरु झनै उग्र भएका छन्।