प्रचण्डको चाहनामा सुरेन्द्र अर्थमन्त्री बन्दै
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

प्रचण्डको चाहनामा नेकपाका सांसद सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने भएका छन् । सरकारमा मन्त्री फेरबदल हुने चर्चा चलिरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अहिलेको एकमात्र चाहना पाण्डेलाई अर्थमन्त्री बनाउने रहेको छ । प्रचण्डले अरु जे भएपनि फरक नपर्ने तर पाण्डे भने नभई नहुने भन्दै आएका छन् । पाण्डे र प्रचण्ड दुबै चितवनबाट निर्वाचित सांसद हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डे माधबकुमार नेपालका मान्छे हुन् । एमालेको यसअघिको महाधिवेशनमा पाण्डे नेपालको समूहबाट महासचिव उठेका थिए । पाण्डेले थोरैमात्र मत अन्तरमा महासचिव हारे । महासचिव ईश्वर पोखरेल भए ।

प्रचण्डले अबको राजनीतिक कार्यक्षेत्र चितवनलाई नै बनाउने भएका छन् । उनले छोरी रेणु दाहाललाई नेपाली कांग्रेससँगको चुनावी गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर बनाएका छन् । पाण्डेलाई अर्थमन्त्री बनाएपछि छोरीको राजनीति भविष्य पनि सफल हुने सोचमा छन् प्रचण्ड । अहिले छोरीको माध्यमबाट प्रचण्डले आफ्नो चुनावी क्षेत्रमा धेरै बजेट खन्याएका छन् । पाण्डे अर्थमन्त्री भएपछि बिकास निर्माणमा थप पैसा लाने दाउमा छन् प्रचण्ड । २०६४ सालको संविधानसभामा रोल्पाबाट निर्वाचन जितेका प्रचण्डले २०७० सालमा काठमाडौ–१० बाट निर्वाचनमा लज्जास्पद पराजय भोगेका थिए । तर उनले सिराहाबाट भने निर्वाचन जिते ।

विभिन्न ठाउँबाट उम्मेदवार बन्दै गएका प्रचण्ड अब भने चितवन छोड्ने पक्षमा छैनन् । यातायातको दृष्टिकोणले पनि चितवन नजिक छ काठमाडौंबाट । उनी हप्तैपिच्छेजस्तो चितवन गइरेहका छन् । राप्रपा संयुक्तका नेता बिक्रम पाण्डेसँग डर छ प्रचण्डलाई । प्रतिनिधिसभाको निर्वाचनमा पाण्डे र प्रचण्डबीच कडा प्रतिस्पर्धा थियो । अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ मन्त्रीबाट हट्नेको सूचीमा छन् । चैत्र १४ र १५ गते लगानी सम्मेलन सकेपछि मन्त्री फेरबदल हुन सक्ने प्रचण्डले नै बताइसकेका छन् ।
समाचारस्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सूचना तथा सञ्चारमन्त्री, स्वास्थ्यमन्त्री उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्न सक्ने छन् । बाँस्कोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र बाँस्कोटालाई पर्यटनमन्त्री बनाइएपछि मन्त्रालयमा भइरहेका ‘सेटिङ’ पनि मिल्न सक्छ भन्ने ओलीको नियत खराव छ । फागुन १५ गते ताप्लेजुङमा भएको दुर्घटनामा परी पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीसहित ७ जनाको निधन भएको थियो । सरकारको विषयमा राम्रो प्रचार हुन नसकेको र अहिलेका सञ्चारमन्त्रीले सकारात्मक प्रचार दिएर सरकारको बचाउ गर्न नसकेको भन्दै मन्त्रीलाई फेरबदल गर्न लागिएको जनाइएको छ । ज्ञवालीले सरकारको बचाउमा मीठो बोली बोल्न सक्छन् भन्ने ओलीको बुझाई छ ।

यादव परराष्ट्रमा गएपछि स्वास्थ्य राज्यमन्त्री मन्त्रीमा बढुवा हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमा कसलाई लाने भन्ने टुंगो छैन । ३ पटकसम्म संसदीय निर्वाचन उठेर यसपालिमात्र निर्वाचन जितेका योगेशकुमार भट्टराईले चाहेमा उनी भौतिकमन्त्री बन्ने छन् । तर सरकार कलंकित भएको हुँदा मन्त्री भएर काम गर्न सकिएन भने बद्नाम भइन्छ कि भन्ने डर पनि छ योगेशलाई ।