नेकपाका नेता भीम रावललाई झड्का दिदै सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र २, २०७५
  • मंगलसेन

नेपाल कम्युनिस्ट पार्टीहरूको गढ मानिने अछाम जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडि सयौ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।अछाम जिल्लाको ढकारी गाउँपालिकामा आयोजित गाउँपालिकास्तरीय आमसभामा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले जानकारी दिए ।

नेकपाले निर्वाचनका बेला जनता समक्ष गरेको प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति स्वाँरका अनुसार नेकपाका काशिराम साउँद, विराखर जैसीसहित २०–२२ जना नेता तथा कार्यकर्तालाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले पार्टी प्रवेश गराएका हुन् । साउँद वडाध्यक्षका उम्मेदवार पनि हुन् ।

सभालाई सम्बोधन गर्दै नेता लेखकले कम्युनिस्टहरू बोली र व्यवहारमा अन्तर रहेको बताए । ‘जनतालाई झुक्काउन कम्युनिस्टहरू माहिर हुन्छन्’, उनले भने, ‘कम्युनिस्टहरूका कारण देश द्वन्द्वमा फस्दै गएको छ ।’अछाम जिल्लाबाट तत्कालीन एमालेका नेता भीमबहादुर रावल निर्वाचित भएका छन् ।