ललितपुरबाट विप्लव नेतृत्वको नेकपाका ठूला नेता पक्राउ
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र २, २०७५
  • काठमाडौँ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ललितपुरबाट पक्राउ परेका छन् ।
शुक्रबार राति नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ललितपुरबाट पक्राउ परेका हुन् ।

ललितपुरकै नख्खुस्थित एनसेल मुख्यालयअगाडि केही समयअघि विप्लव समूहले बम विस्फोट गराउँदा एक जनाको ज्यान गएको थियो । बम विष्फोटमा दुई जना घाइते भएका थिए ।विप्लवको नेकपाले मुलुकका विभिन्न स्थानमा बम विस्फोट लगायतका गतिविधि गर्दै आएको छ।

औषधी लिन डेरामा पुगेका बेला बाटो कुरेर बसेको प्रहरीले उनलाई गिरफ्तार गरेर लागेको उक्त पार्टीका एक नेताले जानकारी दिए । सुगर रोगले पीडित कार्की औषधी लिन भन्दै डेरामा जानासाथ सादा पोशाक र ड्रेसमा गएका प्रहरीले पक्राउ गरेर लगेको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई गिरफ्तार गरेर कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले केहि जानकारी दिएको छैन । यता ललितपुर प्रहरीले भने उनलाई पक्राउ गरिएकोबारे कुनै जानकारी दिएको छैन । बिना कारण प्रहरीले समातेर बेपत्ताजस्तै बनाएको भन्दै रिहाइको पहल गरिदिन उनको घरपरिवारले आम पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजलाई आग्रह गरेको छ ।