दुई राप्रपाको एकता आज, थापालाई बाहिर राखेर राणा र लोहनी मिल्दै
  • अनलाइनपाना सम्बाददाता
  • शुक्रबार, माघ १८, २०७५
  • काठमाडौँ

पूर्व पञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीचको एकता शुक्रबार घोषणा हुने भएको छ । प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै एकताको सहमतिपत्रमा हस्ताक्षर गरे ।

‘संयुक्त वक्तव्यमा नेकपा नेतृत्वको वर्तमान सरकारले संविधानको मर्म र भावनालाई उपेक्षा गरेको छ भने सत्तालाई जनताको हितको सट्टा सिमित शासकका आसेपासे ‐सिमित भारदार) को आर्थिक हितमा केन्द्रित छ’, वक्तव्यमा भनिएको छ, ‘यो परिवेशमा प्रतिपक्ष देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त तथा अवधारणालाई बचाउन सत्ता बाहिर रहेका राजनैतिक शक्तिले जनताको हितलाई केन्द्र बिन्दुमा राखेर एकता प्रक्रिया अगाडि बढाउनु अनिवार्य भएको छ ।’

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले जनताको चहान बोमोजिम पार्टी एकताको घोषणा हुन लागेको बताए । ‘देशको अवस्था र मागले हामीलाई एकता प्रक्रिया अघि बढाउन बाध्य बनायो’, उनले भने, ‘केही समयको प्रयास सफल भएको छ ।’

प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले प्रजातान्त्रिक राजसंस्थाको सिद्धान्त र दुई अध्यक्ष हुने सहमतिमा पार्टी एकता हुन लागेको बताए । ‘अहिले यिनै कुरामा सहमति भएको छ पछि अरू कुरा पनि थपिन सक्छन्’, उनले भने ।

राजसंस्थाको छायाँमा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएका थिए । स्थापनाको एकवर्षमै दुवै पर्टीबीच एकता भयो । तर, समय क्रमसँगै यो पार्टी पुनः विभाजन भयो । त्यसपछि राप्रपाले पटक–पटक जुट र फुटको नियती व्यहोर्दै आएको छ । पछिल्लो पटक ०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो । त्यसलगत्तै राप्रपाका अर्का प्रभावशाली नेता डा.लोहनीले एकीकृत राप्रपा (राष्ट्रवादी) लाई छुट्टै गठन गरे ।

०७४ साउनमा सरकारमा सहभागिताको विषयमा मतभेद भएपछि अध्यक्ष कमल थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्दै गएपछि राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । केही समयअघि थापा र राणा राप्रपाको एकता प्रक्रिया अघि बढेपनि सैद्धान्तिक कुरा नमिलेपछि गत कात्तिकमा कुरा भाँडिएको थियो ।

राजालाई हेर्ने दृष्टिकोणमा मतभेद

पूर्वपञ्चहरूको दुई पार्टी एकता हुने भएपनि आन्तरिक मतभेदमा चोखो देखिएन । शीर्ष नेताहरू पार्टी एकतामा असन्तुष्ट हुनुको मुख्य कारण हो–राजालाई हेर्ने दृष्टिकोण । राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहरासहितको टोलीले पार्टी एकता प्रक्रियाबाट बाहिरिएको छ । बोहोरासँगै केशरबहादुर बिष्ट, विन्दु पहाडी, विष्णु भट्टराई, श्याम केसी, प्रदीप उदय, मिरा राणालगायतका नेताहरूले एकता पक्रियालाई बहिस्कार गरेका छन् ।

‘राजासंस्थाको मुद्दालाई बोकेर आइयो, अहिले आएर यो मुद्दा छोड्न सकिन्न’, प्रजातान्त्रिकका उपाध्यक्ष विष्णु भट्टराई भन्छन्, ‘यो एकतामा राजसंस्थालाई हेर्ने दृष्टिकोण अलमल देखियो ।’ अन्नपूर्णपोष्टबाट