कम्युनिस्ट सरकारबाट दाङले पायो अर्को झट्का, महरा–पोखरेल हेरेको हेरै
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र ८, २०७५
  • बुटवल

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई धक्का लाग्ने गरेर कम्युनिस्ट सरकारले रुपन्देही जिल्लामा प्रदेशस्तरीय ठूलो सरकारी मेडिकल कलेज खोल्न लागेको छ ।दाङका शंकर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन् । दाङ क्षेत्र नं। २ बाट कृष्णबहादुर महरा प्रतिनिधि सभामा सभामुख छन् ।

यति ठूला कम्युनिस्ट हस्ती हुँदा हुँदै रुपन्देहीले प्रदेश राजधानीलाई सहयोग मिल्ने गरेर सरकारीस्तरको ठूलो मेडिकल कलेजको कार्यक्रम ल्याएको छ ।सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले धमाधम रुपन्देहीमा ठूला कार्यक्रमहरू ल्याइरहेका छन् । तर, दाङका पोखरेल र महराले कुनै पनि ठूला कार्यक्रम लैजान नसकेको आरोप छ ।

केन्द्र र प्रदेशको कम्युनिस्ट सरकार तथा दाङका जनप्रतिनिधिहरूले केही गर्न नसकेकै कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान विवादभित्र छ । यस्तो अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई नै असर पर्ने गरेर रुपन्देहीमा प्रादेशिक मेडिकल कलेज खुलेपछि दाङका जनतामा निराशा छाएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले रुपन्देहीमा सरकारी मेडिकल कलेजको कार्यालयको उदघाटन र मेडिकल कलेज निर्माणस्थलको शुक्रबार शिलान्यास गर्दैछन् ।तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिलदेखि ५ सय मिटर पूर्व प्यारामाउन्ट टोलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको हो ।

योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने छ ।
त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । डिपिआर लगत्तै २ सय बिगाहा क्षेत्रफलमा तत्काल २ वटा ठूला–ठूला भवन बन्नेछन् ।

मासिक ३५ हजार भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी छ ।

गत फागुन ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो ।

दाङमा राजधानी बनाउने भनेर चर्चा चलिरहेको तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिएर विवाद भैरहेका बेला प्रधानमन्त्री ओलीले रुपन्देहीमा मेडकल कलेजको उदघाटन गर्न लागेका हुन् ।रुन्देहीमा सरकारी प्रादेशिक मेडिकल खुल्ने भएपछि दाङलाई धक्का लागेको छ रिपब्लिका दैनिकमा समाचार छ  ।