चाक्सिबारीबाट माथि जान सकेनन् प्रकाशमान
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र १६, २०७५
  • काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चाक्सिबारीबाट माथि उठ्न सकेका छैनन् ।काठमाडौंको जिल्ला सभापति हुँदै कांग्रेसको निर्वाचित महामन्त्रीसमेत भइसकेका सिंहले देशव्यापी रुपमा आफ्नो नेटवर्क बनाउन सकेका छैनन् । उनलाई धेरैले चाक्सिबारीभन्दा बाहिर हेर्न नसकेको आरोप लगाउँदै आएका छन् ।

संविधानसभाको २०७० सालमा भएको निर्वाचनमा उपत्यकाका केही सांसद उनको पक्षमा थिए तर अहिले त्यो अवस्था पनि छैन । कांग्रेस प्रजातान्त्रिक हुँदा शेरबहादुर देउवाको उपसभापति भएका उनको सानो बिचार भएको र प्रष्ट दृष्टिकोणको अभावले उनी खुम्चिँदै गएका छन् ।

प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेस संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका उनले नराम्ररी हार खाए । यो लज्जास्पद हारपछि पनि उनले अर्को बाटो लिन सकेका छैनन् । प्रतिनिधि सभाको निर्वाचनमा उनलाई बिबेकशिल पार्टीका उम्मेदवार रबिन्द मिश्रले झण्डै हराए । सिंहले ८ सय ३९ मत अन्तरमा मात्र निर्वाचन जिते ।

सिंहले २०६४ र २०७० सालको संसदीय निर्वाचन जितेका थिए । ठूलो पद पाएर घमण्डी भएका उनलाई पार्टीबाट पनि राम्रो सहयोग भएन , यसको अर्थ उनले जनताको पक्षमा र बिकासका पक्षमा केही काम गरेनन् ।

बुबा गणेशमान सिंहले त्याग र तपस्या गरेर कांग्रेसलाई बिकसित गर्दै लगे तर छोरा प्रकाशमान सिंहले यो बाटो समात्नुको साटो गलत बाटो लिए । उनी सजिलो र ‘कन्फर्म’ निर्वाचन जित्ने ठाउँबाट उठ्ने गर्छन् । उनी बसेको ठाउँ काठमाण्डौँ क्षेत्र नम्बर ७ पर्छ यस क्षेत्रबाट नेकपाका सांसद रामबीर मानन्धरले निर्वाचन जीतेका थिए ।