नेकपा एकता, सुस्त कार्यदललाई सक्रिय बनाउने तयारी
  • अनलाइनपाना सम्बाददाता
  • सोमवार, माघ २१, २०७५
  • काठमाडौँ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि गठन गरेको कार्यदललाई सक्रिय बनाउने भएको छ । पार्टी एकता टुंगो लगाउन गठन भएको कार्यदल सुस्त भएपछि त्यसलाई सक्रिय बनाउन पार्टी सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि गठन भएको कार्यदललाई सक्रिय बनाउन बैठकमा छलफल हुने बताए । सचिवालय बैठकमा पार्टी, भ्रातृ संगठनको एकताका साथै कार्यदललाई अझै सक्रिय बनाउने एजेन्डामा छलफल हुने उनले बताए ।

‘बैठकका एजेन्डा पहिले नै तय भइसकेको छ । पार्टी कमिटीसहित भ्रातृ संगठनहरूको एकीकरणका विषयमा छलफल गर्छौं,’ वरिष्ठ नेता खनालले भने, ‘पार्टी एकताका लागि गठन भएको कार्यदललाई अझै सक्रिय बनाउने विषयमा समेत बैठकमा गम्भीर छलफल गर्र्छौं ।

’पार्टी एकताको केही काम भएको तर केही काम अझै टुंगो लगाउन बाँकी रहेको बताउँदै पछिल्लो समय गठन भएको कार्यदलको प्रगतिको विषयमा छलफल गर्दै त्यसलाई अझै सक्रिय बनाएर बाँकी काम टुंग्याउने विषयमा छलफल केन्द्रित हुने उनले बताए ।

पार्टी एकताको सम्पूर्ण काम टुंगो लाग्न नसक्दा पार्टीका हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् । ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई बनेको नेकपाको एकीकरण नौ महिना पुग्नै लाग्दा पनि सकिएको छैन ।

पार्टी एकता घोषणा सभामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताले तीन महिनाभित्रै पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।

तर, अहिलेसम्म नेकपाको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै टुंगो लागेको छ । तर, टुंगो लागेको कमिटीमा रहेका नेताले समेत कुनै जिम्मेवारी पाएका छैनन् भने हजारौं नेता कार्यकर्ता कुनै पनि कमिटीमा पर्न सकेका छैनन् ।

पार्टीको पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, प्रदेश कमिटी सदस्यको जिम्मेवारी बाँडफाँट, विभाग, जनवर्गीय संगठनको एकता, जिल्ला कमिटीदेखि स्थानीय तहका कमिटी अझै गठन हुन नसक्दा हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् ।

पार्टी एकताको बाँकी काम टुंगो लगाउन १२ पुसमा सम्पन्न स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलले सुस्त गतिमा काम गरिरहेकाले एकता टुंगो लाग्न ढिलाइ भएको छ ।पछिल्लो समय कार्यदलको बैठकसमेत बस्न सकेको छैन । प्रदेश कमिटीका विषयमा कार्यदल बैठकमा सहमति हुन नसकेपछि बैठक नै बस्न नसकेको हो ।

कार्यदलका एक सदस्यका अनुसार सबै तहको एकता टुंगो लगाउन अझै समय लाग्नेछ । सबै कमिटीको टुंगो लाग्नुको साथै जिम्मेवारी बाँडफाँटबारे सुनिश्चितता गर्न नसकिने उनले बताए । कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्न पुस मसान्तसम्मको समय दिइएको थियो । नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहेका छन् ।

यो कार्यदलले पुस मसान्तभित्रै पार्टी एकताको गृहकार्य गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी पाएको थियो ।केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने कार्यदलले जिम्मेवारी स्थायी कमिटी बैठकबाट पाएको हो ।