सीआईबीको डीएसपीभन्दै ठगी गर्ने लुईंटेल पक्राउ
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, असार २६, २०७६
  • काठमाडौँ

आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को डीएसपीभन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुईंटेल रहेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले काठमाडौंको सितापाइलाबाट पक्राउ गरिएको परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।

प्रहरी अनुसन्धानबाट उनी सशस्त्र प्रहरी बलका भगौडा रहेको खुलेको छ । पक्राउ परेका लुईंटेलले चन्द्रागिरी नगरपालिका-३ का विजय तामाङलाई आफू सीआईबीमा कार्यरत डीएसपी भएको भन्दै एक लाख ६० हजार रकम मागेका थिए ।

आफ्नो सेक्युरीटी कम्पनी रहेको र सो कम्पनीमा पाँच प्रतिशत सेयर हाल्न सो रकम लाग्ने भन्दै तामाङबाट १० हजार रकम लिएका थिए । उनकोसाथबाट रेडियो सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।