नयाँ सत्ता समीकरणका लागि जनता समाजवादी पार्टी (जसपा) को भूमिका निर्णायक भएपनि आफैभित्रको दुई धारका कारण समस्या सृजना भएको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री केपी ओलीसंग सहकार्य गर्नै नसकिने अडान लिएपछि महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई निर्णय लिन ढिलाई भएको छ ।
जसपा केन्द्रीय सदस्य राजीव झाका अनुसार जसपाले सत्तालाई भन्दा आफना माग र मुद्दालाई प्राथमिकता दिएको छ । जसले आफना माग पूरा गर्छ, त्यसैसंग सहकार्य गर्न आफूहरु तयार रहेको उनी बताउँछन् । आफना मागबारे कहिले प्रधानमन्त्री, कहिले कांग्रेस सभापति शेरबहादुर देउवा त कहिले नेकपा माओवादी केन्द्रसंग छलफल गर्नु सामान्य भएको उनी बताउँछन् ।
झाका अनुसार प्रधानमन्त्री ओली जसपाका माग पूरा गर्न सकारात्मक छन् । उनले प्रक्रिया मिलाएर रेशम चौधरीलगायत जेलमा रहेका कार्यकर्ताको रिहाइ र संविधान संशोधनमा पनि सकारात्मक जवाफ दिएका छन् । यो अवस्थामा जसपाभित्रै उपेन्द्र यादव र बाबुरामको फरक मत भएपनि अन्ततः पार्टीमा बहुमतको निर्णय लागु हुने झा बताउँछन् ।
झा भन्छन्, ‘लोकतान्त्रिक पार्टीमा फरक मत राख्न पाइन्छ तर निर्णय गर्दा बहुमतको निर्णय मान्य हुन्छ । मलाई विश्वास छ उहाँहरु बहुमतको निर्णय मान्नु हुन्छ ।’
जसपा कुनैपनि हालतमा नफुट्ने दावी गर्दै नेता झाले आफनो पार्टी सरकार ढाल्ने र गठवन्धन निर्माणको खेलमा नलागेको स्पष्ट पारे । आफूहरुका लागि एमाले, कांग्रेस र माओवादी केन्द्र एउटै भएकोले उनीहरुसंग मुद्दाका आधारमा मात्र व्यवहार हुने उनको भनाइ छ ।
अहिले गणतान्त्रिक व्यवस्था नै उल्ट्याउने खेल भएको स्वीकार गर्दै झा भन्छन्, ‘ जसपा गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष राष्ट्रमा प्रतिवद्ध छ । ’
विस्तृत यो भिडियोमा :