Logo
अन्तर्वार्ता

चाँडै देउवाको नेतृत्वमा सरकार (भिडियो सहित) 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री देवेन्द्रराज कँडेलले चाँडै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् ।

अनलाइनपानासंग विशेष कुराकानी गर्दै नेता कँडेलले केपी ओली नेतृत्वको सरकार असफल भइसकेकाले मुलुकलाई निकास दिन कांग्रेस अग्रसर हुनु परेको बताए । जनताले कांग्रेसलाई ५ वर्ष प्रतिपक्षी भूमिकामा रहन म्याण्डेट दिएपनि कम्युनिष्टहरुले मुलुकलाई तहसनहस पारेकाले कांग्रेस बाध्य भएर सरकारमा जानुपर्ने स्थिति उत्पन्न भएको उनको भनाइ छ । 

नेता कँडेल भन्छन्, ‘ ओली सरकार ढालेर नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र र जसपासंग छलफल भइरहेको छ । जसपाको एउटा खेमा राजनीतिक चिन्तन र आचरण भन्दा बाहिर देखिएकाले बैकल्पिक सरकार दिन केही बिलम्ब भएको छ । बहुमतको स्पष्ट खाका तयार हुने वित्तिकै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ ।’ ’

नेता कँडेलका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरेपछि उनको कदमविरुद्ध आन्दोलन गरेका सबै राजनीतिक शक्ति सैद्धान्तिक रुपमा एक हुनुपर्छ । प्रायः सबै दल एक भएपनि जसपा भित्र बिचलन देखिदा बैकल्पिक सरकार निर्माणमा ढिलाइ भएको हो । जसपाले न्यायिक प्रक्रियाबाट निरुपण हुने विषयलाई जबर्जस्ती राजनीतिक मुद्दा बनाउन खोजेको छ ।

न्यायालयबाट हुने फैसलालाई स्वतन्त्र रुपमा छोड्नुपर्ने कांग्रेसको मत छ । प्रधानमन्त्री ओलीले न्यायीक प्रक्रियालाई चुनौती दिंदै जसरी रेशम चौधरीलगायत थुनामा रहेकाहरुलाई रिहा गर्ने, आममाफी दिने प्रक्रिया थालेका छन्, यो गलत छ । अपराधको राजनीतिकरण गर्नु ओलीको अपराध हो ।

नेता कँडेलले बैकल्पिक सरकार बनाउन ‘एमसीसी’लाई कांग्रेसले शर्त बनाएको नभइ ‘एमसीसी’ पास हुनुपर्छ भन्ने धारणा मात्र राखेको स्पष्ट पारे । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको ‘एमसीसी’ मुलुकको हितमा भएको उनको दावी छ । 

विस्तृत भिडियोमा :