Logo
भिडियो

कम्प्युटर शिक्षाको करामत (भिडियो सहित)


कोभिडको विश्वव्यापी आतंकपछि भर्चुअल कक्षा, भर्चुअल बैठक, भर्चुअल भाषण, भर्चुअल भेटघाट सामान्यीकरण बन्दै गएको सन्दर्भमा पाँच वर्ष पहिले काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले सामुदायिक विद्यालयमा ई लर्निङ अभियान थालेको हो । यसको पूर्वाभ्यास भोजपुरका ६ वटा र सिन्धुपाल्चोकको एउटा विद्यालयमा गरिएका छन् ।

पहिलो चरणमा भोजपुर नगरपालिकास्थित विद्योदय माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय, अरुण गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा ई लर्निङका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । विद्योदय माध्यमिक विद्यालयमा २० थान कम्प्युटर, स्मार्ट टीभी, ल्यापटप र प्रोजेक्टर प्रदान गरिएको छ । सात दशकअघि ०७ सालको क्रान्तिपश्चता स्थापना भएको यो विद्यालयमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पढेकी थिइन् ।

वर्षेनी नयाँ नयाँ विद्यालय छान्ने क्रममा अघिल्लो वर्ष जिल्लाकै सुदूर दक्षिणको सगरमाथा माध्यमिक विद्यालयमा ई लर्निङ सेन्टर स्थापना गरिएको थियो । कोभिडका कारण यो वर्ष भोजपुर बजारमा रहेको जनसेवा आधारभूत विद्यालय ई लर्निङका लागि छनोटमा परेको छ । संस्थाका संरक्षक तथा सल्लाहकार पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला, अध्यक्ष प्रमेश केसी, भोजपुर नगरका मेयर कैलाश आलेले संयुक्त रुपमा आवश्यक सामग्री हस्तान्तरण गरे । 

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री कोइरालाले यो अभियान देशव्यापी बनाइने बताए । कोभिडका कारण केही शिथिल भएको भन्दै कोइरालाले हिमाल र तराईमा अभियानका रुपमा विस्तार गरिने जानकारी दिए । ‘देशकै शैक्षिक र प्राज्ञिक गरिमा बोकेको दिङ्लामा अर्को वर्ष प्रभावकारी ई लर्निङ सेन्टर स्थापना गरिनेछ ।’ कोइरालाले भने । 

नगरप्रमुख कैलाश आलेले प्राज्ञिक क्षेत्रमा नगरपालिकाले संस्थासंग सहकार्य गर्ने प्रतिवद्धता जनाए । संस्थाका अध्यक्ष प्रमेश केसीले सूचना प्रविधिको पहुँचविना अबको जनशक्तिले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले प्रत्येक विद्यालय व्यवस्थापकको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले देश विदेशका सक्षम जनशक्तिबाट कक्षा लिने पद्दतिको विकास छिटै गरिने जानकारी दिए । 

यसैबीच भोजपुरमा रहेको दुई सामुदायिक विद्यालयमा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले छात्रबृति प्रदान गरेका छन ।  सदरमुकामको विद्योदय माध्यमिक विद्यालय र सरस्वती आधारभूत विद्यालयमा स्थापना भएको अक्षय कोषको ब्याजबाट छात्रबृति रकम बितरण गरिएको हो । 

पूर्वअथमन्त्रीले २०७१ सालमा वेदनीधि धनकुमारी कोइराला छात्रवृत्ति कोष नाममा विद्योदयमा ५ लाख र सरस्वती आधारभूत विद्यालयमा ३ लाखको अक्षय कोष स्थापना गरेका थिए । विद्योदयमा स्थापना भएको अक्षयकोषको ब्याज बरावरको १ लाख १९ हजार ४ सय रकमबाट कक्षा १२ मा अध्ययनरत अस्मिता राई १७ हजार, कक्षा ११ का विशाल राई १७ हजार र ११ कै अभिषेक राईलाई १७ हजार छात्रबृति प्रदान गरिएको छ ।

यसैगरी कक्षा ८ उतीर्ण गर्ने बिनु भुजेल, देवराज चौलागाई, समिक्षा भण्डारी बिपिन तिवारी र लक्ष्मी श्रेष्ठलाई जनही १२ हजारका दरले छात्रबृति दिइएको थियो । 
पूर्वअर्थमन्त्री कोइरालाले सरस्वती आधारभूत विद्यालयमा कक्षा ५ अध्ययनरत छात्रा श्रीतु भुजेल र छात्र सुमन बिष्टलाई समेत जनही नगद ६ हजार ३० रुपैयाँ छात्रबृति दिएका छन । दुवै विद्यालयले छनौट गरेका विद्यार्थीहरुलाई अक्षयकोषमा भएको ब्याजबाट छात्रबृति वितरण गरिएको हो ।

सो अवसरमा संस्थाले विभिन्न विद्यालय, पत्रकार, प्रहरी, वायुसेवाका कर्मचारीलाई पाँच हजार थान मास्क बाँडेको थियो । 

यहाँ भिडियो हेर्नुहोस् :