अहिले सबैको प्रश्न छ, अब के हुन्छ ? मुलक कता जाँदैछ ?
यी दुवै प्रश्नको उत्तर सर्वोच्च अदालतको फैसला नआएसम्म अनुत्तरित नै रहनेछ । राजनीतिक दल र तिनका नेताहरुले भने आफू अनुकुल व्याख्या र जिद्दी गरिरहने छन् । अहिले मुख्यतः नेकपाका दुवै खेमाका लागि संसद बिघटनको विषय जीवन मरणको प्रश्न बनेर आएको छ ।
धेरैको आशंका छ संसद पुनस्र्थापना भए प्रधानमन्त्री ओलीले संकटकाल लगाउने छन् । तर, प्रधानमन्त्री ओली समूहका नेकपा युवा नेता एवम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल भने प्रधानमन्त्रीमाथि अनावश्यक आशंका गर्न जरुरी नभएको बताउँछन् । उनका अनुसार प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला शिरोधार्य गर्नेछन् ।
सर्वोच्च अदालतको फैसलाले संसद् विघटन नै सदर गर्ने रिजालको दावी छ । विघटन सदर भए वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन कसैले रोक्न सक्ने छैन । यदि पुनस्र्थापना नै भएछ भने पनि सो फैसला प्रधानमन्त्रीका लागि मान्य हुनेछ । त्यसबेला प्रधानमन्त्रीले संकटकाल लगाउने हल्ला र कुप्रचार मात्र हो । प्रधानमन्त्री र नेकपा पार्टी स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले त्यसको बर्खिलाप उहाँ जान नसक्ने रिजालको विश्वास छ ।
मेयर रिजालका अनुसार प्रचण्ड–नेपाल समूह ६ महिनाभित्र विभाजनमा जानेछ । प्रचण्डबाट माधव नेपाल र झलनाथ खनाल समूह अलग्गिने छ । प्रचण्डको नीति नै फुटाउ र राज गर्नु भएकाले त्यहाँ पनि प्रचण्डले बबन्डर मच्चाउने छन् ।
प्रधानमन्त्री ओलीलाई कतिपयले राजसंस्था व्युँताउने र हिन्दु राष्ट्र फर्काउने आरोप लगाइरहेका छन् । ती सबैले नारायणहिटीको ऐतिहासिक आमसभाबाट जवाफ पाइसकेका छन् । ‘प्रधानमन्त्रीले संघीय गणतन्त्रलाई कसैले खोस्न नसक्ने जवाफ दिइसकेपछि फेरि पनि शंका गर्नुपर्ने स्थिति छ र ?’ रिजाल प्रश्न गर्छन् ।
मेयर रिजालले गृहमन्त्री रामबहादुर थापाले जनआन्दोलन सुरु भएको भनिदिएको अभिव्यक्तिको बचाउ गर्दै भने, ‘मन्त्री थापाले विकासको आन्दोलन सुरु भयो भन्नु भएको हो । सरकारको प्रमुख लक्ष्य विकास र समृद्धि भएको र त्यो प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र सम्भव भएको भन्ने कुरा मन्त्री थापाले बताउन खोजेको हो । ’
यस्तै, प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपासंग सरकारले वार्ता गर्नु स्वागतयोग्य भएको र यसलाई छिटो टुंगोमा पुर्याउनुपर्ने रिजालले बताए । केही दिनअघि खानेपानी मन्त्री मणि थापाले बिप्लवको राष्ट्रवाद र ओलीको राष्ट्रवादबीच समानता छ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘ओली र विप्लवको राष्ट्रवाद एउटै हो भन्नु गलत हो । ’
नगरपालिकामा आफूले निकै सुधारका काम गरेको जनाउँदै मेयर रिजालले भने, ‘ पहिलो आवधिक योजना बनाउने हामी पहिलो नगरपालिका हो । अहिले कम्पोष्ट प्लान्ट निर्माण हुँदैछ । यो फागुनबाट संचालनमा आउँदैछ । किराँती राजा यलम्बरको प्रतिमासहित पार्क बनाउँदैछौं । नगरपालिकाले आफनो छुट्टै प्रशासनिक भवन पनि बनाएको छ । पूर्वाधार, स्वास्थ्य, शिक्षा, संचार लगायत मानवीय विकासका मुद्दामा पनि अघि बढेका छौं । ’
‘केन्द्र सरकारले स्थानीय तहलाई सबलीकरण गर्न वित्तीयरुपमा क्षमतावान बनाउन जरुरी छ । वित्तीय अधिकारसहित बजेट तर्जुमा गरे स्थानीय तहले मुलुककै कायापलट गराउन सक्छन् । ’ मेयर रिजाल बताउँछन् ।