Logo
अन्तर्वार्ता

राजनीतिमा स्थायी शत्रु स्वाभाविक (भिडियोेसहित) 


प्रसिद्ध कवि एवं गीतकार श्रवण मुकारुङ गणतान्त्रिक व्यवस्था ल्याउन भूमिका खेल्ने मध्येका अग्रणी अभियन्ता हुन् । मुकारुङसहितका सर्जक एवंम नागरिक समाज सडकमा नआएको भए तात्कालिन राजा ज्ञानेन्द्र शाहको शासन व्यवस्था ढल्ने कल्पना पनि थिएन । लेखक, कलाकारसहित बुद्धिजिवीहरुको आन्दोलनले व्यवस्था मात्र परिवर्तन भएन राजसंस्था नै अन्त्य हुनपुग्यो । 

‘बिसे नगर्चीको बयान’ कविताबाट आन्दोलन जुरुक जुरुक उचालेका मुकारुङ मुलुकको अहिलेको अवस्थासंग सन्तुष्ट छैनन् । राजनीतिक दल र नेताहरु जनताप्रति उत्तरदायी नभई व्यक्तिगत स्वार्थमा लिप्त भएका कारण जनअपेक्षाअनुसार काम हुन नसकेको उनको गुनासो छ । नेताहरु इमान्दार नभएको र आफ्नो संकल्प पूरा नगरेको उनको टिप्पणी छ । 

नेताका कारण गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठेपनि मुलुक अँध्यारो सुरुङमा प्रवेश गरेको छैन । आशाका किरण बाँकी नै छन् । मुकारुङ भन्छन्, ‘बामपन्थीले देश चलाउन सकेनन् । समकालिन पार्टीमा कांग्रेस ठीक देखियो । कांग्रेसले चमत्कार नगरे पनि बामपन्थीहरु भन्दा राम्रो गर्छ भन्ने लाग्छ ।’

मुकारुङकाअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् बिघटनको कदमलाई असंवैधानिक भनिसकेकाले उनीसंग सहकार्य गर्न हुँदैन । यो कांग्रेसका लागि आत्मघाती हुन्छ । कांग्रेसबिना सरकार नै नबन्ने स्थिति उत्पन्न भए प्रचण्ड–नेपाल समूहसंग गठबन्धन बनाउन उपयुक्त हुन्छ । 

जहाँसम्म प्रचण्डले भारत र चीनका लागि आरामदायी सरकार बनाउने भनेर अभिव्यक्ति दिएको कुरा छ, त्यो आवश्यकताभन्दा बढी उछालिएको मुकारुङ बताउँछन् । 
नेपालको राजनीतिक संस्कार र सैद्धान्तिक पक्षमै प्रहार गर्दै मुकारुङ भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने मान्यता गलत हो । यो दलालहरुले बनाएको कथन हो । राजनीतिमा त स्थायी शत्रु हुनुपर्छ । राजनीतिमा स्थायी शत्रु हुँदैन भनेर जतिबेला जोसंग पनि गठबन्धन गरेर सत्तामा पुग्न जाली फटाहा दलालहरुले यसो भनेका हुन् । यदि राजनीतिमा आदर्श सिद्धान्त र विचार भन्ने कुरा हुन्छ भने स्थायी शत्रु त अवश्य हुन्छ । विचारै, सिद्धान्त केही नमिल्ने स्थायी शत्रु नभए के हुन्छ ? ’

विस्तृत भिडियोमा :