प्रधानमन्त्री नै असुरक्षित ?
म माथि शारीरिक आक्रमण हुनसक्छ, कुनैपनि बेला मेरो ज्यानमाथि तलमाथि हुनसक्छ भनेर प्रधानमन्त्रीले भन्ने ?
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा दिएको अभिव्यक्तिपछि पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता एवम विश्लेषक शेखरजंग रायमाझीले आक्रोश व्यक्त गरे । उनका अनुसार प्रधानमन्त्री नै असुरक्षित हुनु भनेको राज्य व्यवस्था नै असफल हुनु हो । यो भनेको ओलीको शासनसत्ता असफल भएको प्रमाण हो ।
रायमाझी भन्छन्, ‘ प्रधानमन्त्रीले यो कुरा प्रचण्ड–नेपालतर्फ इङ्गित गरेका हुन् । तर, प्रधानमन्त्रीले आफू असुरक्षित भएँ भन्दा यहाँ सुरक्षित चाहिं को छ त ? वास्तवमा भन्ने हो भने यो देशमा प्रधानमन्त्री मात्र होइन कोही पनि नेता सुरक्षित छैनन् । ’
विदेशीको हुण्डी खाएका नेताहरुले उनीहरुको इशारामा काम गर्न नसकेपछि सुरक्षा चुनौती छ । शासन सत्तामा बसेर भ्रष्टाचार गर्ने, जनताको जिउधनको रक्षा गर्न नसक्ने, विधि नियम, कानुन र प्रक्रिया केही नमान्नेहरु जनताबाट समेत असुरक्षित छन् । अब देशभरका जनता आन्दोलित हुन्छन् । नेताहरु लेखेटिनेछन् ।
अहिलेका नेताहरुमा इमान, नैतिकता र इमान्दारिता भएन । यीनिहरु जनताप्रति जवाफदेही छैनन् । वास्तवमा भन्ने हो भने दलीय व्यवस्था असफल भैसक्यो । अब यो देशमा कसको सरकार बन्छ, को प्रधानमन्त्री हुन्छ भनेर बहस गर्नु बेकार हो ।
अब मुलुकलाई निकास दिने हो भने राजासहित सर्वपक्षीय सम्मेलन गर्नुपर्छ । यही सम्मेलनबाट मुलुकको समस्या पहिचान गरी साझा सहमतिका हिसाबमा अघि बढ्नुपर्छ । जबसम्म राजसंस्था र हिन्दु राष्ट्र स्थापित हुँदैन मुलुक अस्थिर नै रहनेछ ।
विस्तृत भिडियोमा :