मुलुकको राजनीतिले कुन मोड लिन्छ भन्ने कुरा फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकपछि तय हुनेछ । अहिले यो परिस्थितिका निर्माता स्वयं नेकपाका दुवै पक्ष पनि अस्पष्ट छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी पनि आफनो भूमिकामा स्पष्ट हुन सकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा यथावत रहन्छन् वा हट्छन् ? नयाँ प्रधानमन्त्री को ? मुलुक कसरी अगाडि बढ्छ ? लगायतका प्रश्न अनुत्तरित छन् ।
कांग्रेसका युवा नेता नैनसिंह महर प्रधानमन्त्री ओलीलाई सजाय दिनुपर्ने पक्षमा छन् । संसद् बिघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेकाले उनलाई पदबाट हटाउनुपर्ने उनको मत छ ।
प्रधानमन्त्री ओलीविरुद्ध माधव–प्रचण्ड समूहले अविश्वासको प्रस्ताव दर्ता गरे, कांग्रेसले समर्थन गर्ने उनी बताउँछन् । यो विषयमा शीर्ष तहमा समझदारी बनिसकेको उनको दावी छ । यो अवस्थामा नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ ।
महरका अनुसार सरकारमा जानु कांग्रेसका लागि फाइदाजनक छैन । आगामी चुनावमा कांग्रेसका लागि प्रत्युत्पादक बन्न सक्छ । तर, कम्युनिष्टहरुले मुलुकलाई संकटमा पारेकाले कांग्रेसले आफनो जिम्मेवारी पनि भुल्न नहुने महर बताउँछन् । संकटपूर्ण अवस्थामा मुलुकको बागडोर सम्हालेर विकास र सुशासनका पक्षमा काम गर्न सके निर्वाचन आफनो पक्षमा पार्न सकिने उनको राय छ ।
नेता महरले कांग्रेसको १४औं महाधिवेशनमा पनि शेरबहादुर देउवा नै सभापतिमा चयन हुने सम्भावना औंल्याए । कांग्रेसलाई बचाउन कम्तिमा एक कार्यकाल देउवाको नेतृत्व अपरिहार्य भएको उनी बताउँछन् ।
कांग्रेसमा हाल देखिएका गुट उपगुटहरु अस्थायी भएको र निकट भविष्यमै पार्टीमा नयाँ समीकरणहरु बन्ने समेत जानकारी दिए ।
विस्तृत भिडियोमा :