मुलुकमा नयाँ सरकार गठन र दलहरुबीच सत्ता समीकरणको खेल चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने महाधिवेशनमा केन्द्रीत भएको छ । बैशाखमा तोकिएको महाधिवेशन सम्पन्न गर्न अहिले जिल्ला निर्वाचन समितिको गठन, सक्रिय सदस्यता वितरण, वडादेखि जिल्ला तहसम्मका कार्यसमिति गठन प्रक्रिया चलिरहेको छ । केन्द्रीय महाधिवेशन बैशाख २५ गतेदेखि २८ गतेसम्म तोकिएको छ ।
राप्रपा नेता राजाराम श्रेष्ठ भन्छन्, ‘हामीलाई नयाँ सरकार गठन प्रक्रियामा दिलचस्पी छैन । सत्ता समीकरणमा हाम्रो हैसियत पनि छैन, भूमिका पनि छैन । मुलुकमा के भैरहेको छ त्यसबारे जानकार छौं, तर यो सरकार गठन र समीकरण निर्माणमा हामी सहभागी छैनौ । ’
पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रीत भएको र यसलाई एकताको महाधिवेशन बनाउने प्रयास भइरहेको छ । सकभर सर्वसम्मतरुपमा नेतृत्व चयन गरिनेछ । यसका लागि शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ ।
सर्वसम्मत नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्नु प्रजातान्त्रिक हुन्छ । पार्टीले पटक–पटक विभाजनको पीडा भोगेकाले त्यसबाट पाठ सिक्दै अब टुटफुटतर्फ नजाओस भन्नेमा सबै सचेत छन् ।
नेता श्रेष्ठका अनुसार फागुन २३ गतेपछि पनि मुलुक शान्त र स्थिर हुने छैन । जसको नेतृत्वमा सरकार बनेपनि यो अन्धकारतर्फको यात्रा हो । यिनीहरुले मुलुकलाई भड्खालोमा हालिसके । प्रचण्ड, ओली वा देउवा जो प्रधानमन्त्री भएपनि यिनीहरु एउटै ड्याङका हुन् ।
मुलुकलाई स्वाधिन र सबल बनाई समृद्धितर्फ जान राजसंस्था र हिन्दु राष्ट्र कायम गर्नु अपरिहार्य छ । यसका लागि सबै दलहरु गम्भीर हुन जरुरी छ । राप्रपाले यो मुद्दा आफनो हितका लागि नभइ देश र आउँदो पिंढीका लागि हो । राप्रपा कमजोर हुँदा मुलुकको राष्ट्रिय स्वाभिमान पनि कमजोर भयो । विदेशी हस्तक्षेप बढ्यो । यो कुरा जनताले महसुस गर्न थालेका छन् ।
विस्तृत भिडियोमा :