सर्वोच्च अदालतले दिएको नेकपा सम्बन्धी फैसलाले नेताहरुको हैसियत थाहा भएको छ । नयाँ नेपाल बनाएर विकास र समृद्धि दिन्छौं भन्ने नेताहरु अहिले धूलोपीठो भएका छन् । सर्वोच्चको फैसलाले मुख्यतः तत्कालिन नेकपा अर्थात हालको एमाले र माओवादी केन्द्रका नेताहरुको स्तर थाहा भएको छ ।
सर्वोच्चको फैसलाबाट नेताहरु मुलुकको परिस्थिति, नियम, कानुन, विधि, प्रक्रियाबारे पूरै अज्ञात छन् वा चरम लापरवाह छन् भन्ने पुष्टि गरेको छ । निर्वाचन आयोगमा ऋषि कट्टेलको नाममा पार्टी दर्ता हुँदाहुँदै बलजफ्ती किन सोही नामको पार्टी दर्ता गरेको ?
यसरी एउटै नामको पार्टी दर्ता गर्दा भोलि समस्या होला भन्ने न्युनतम ज्ञान पनि उनीहरुलाई भएन ? निर्वाचन आयोग पनि असक्षम सावित भएको छ । कि शक्तिको उन्मादमा नेताहरुसंगै आयोग पनि बेहोश भएको हो ?
सामान्य एउटा पार्टी चलाउन नसक्नेहरुले के देश चलाउने ? यसकारण साविकको एमाले होस वा नेकपा माओवादी केन्द्र जसले पार्टी एकीकरण गरेर नेकपा बनाए उनीहरुले यसको जिम्मेवारी लिनुपर्छ ।
राजनीतिक विश्लेषक एवम राष्ट्रिय शक्ति नेपालका प्रवक्ता अनिल योगीको भनाइमा प्रचण्ड ओलीहरुको समूह पतन भैसक्यो । अलिकति पनि लाज छ भने उनीहरुले राजनीतिबाट बिदा हुनुपर्छ ।
योगी भन्छन्, ‘ नेता हुँ भन्नेहरुमा दुरदृष्ट्रि नहुँदा मुलुकको दुर्दशा भयो । जेटका पाइलट हुँ भन्ने ओली र प्रचण्डको हालत खलाँसी जस्तो भएको छ । यीनिहरुको असक्षमताका कारण राजनीतिक निर्णय आज अदालतले गर्नुपर्ने अवस्था छ ।’
योगीका अनुसार न्यायालय सम्मानित संस्था भएपनि यसका निर्णय हेर्दा यो स्वतन्त्र र व्यवसायिक देखिएको छैन । न्यायालयमा बाह्य प्रभाव छ । बाह्य शक्तिको इशारामा न्यायालय चलेको प्रतीत हुन्छ । यो खतरनाक कुरा हो ।
हालसम्म चीनका कारण नेपालको अस्तित्व जोगिएको तर्क गर्दै योगी भन्छन्, ‘ जताततै भारतीय दलालहरु छन् । अमेरिकन र युरोपियनहरु पनि नभएको होइन तर भारतीय दलालहरु बढी भए । चीन नहुँदो त नेपाल दक्षिणतर्फ विलिय भैसक्थ्यो । ’
अब मुलुक जोगाउन राजा र जनताले यो व्यवस्थाविरुद्ध बल प्रयोग गर्नुपर्छ । अन्यथा एकादेशमा नेपाल भन्ने देश थियो भन्ने कथा पढ्नुपर्नेछ । यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई अपिल गरी नेतृत्व लिन ढिला गर्नु हुँदैन ।
विस्तृत भिडियोमा :